विराट आदर्श साहित्य मञ्चद्वारा साहित्यकार पोखरेल र पत्रकार दास पुरस्कृत

विराट आदर्श साहित्य मञ्चद्वारा साहित्यकार पोखरेल र पत्रकार दास पुरस्कृत

विराटनगर । विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने दुईजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चले साहित्यकार एवं शिक्षासेवी भेषराज पोखरेल र पत्रकार सोनुकुमार दासलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका संरक्षक मीनकुमार नवोदित, धरानका वडाध्यक्ष नेत्र काफ्लेलगायतले उनीहरूलाई दोसल्ला ओढाएर टोपी र माला लगाएर सम्मानपत्र र नगद समर्पण गरेका थिए ।

पोखरेललाई युवा सञ्चारकर्मी चन्द्रमोहन विश्वासले आफ्नी पत्नीको स्मृतिमा स्थापित ‘मनिता विश्वास साहित्य पुरस्कार’ र दासलाई ‘मनिता विश्वास पत्रकारिता पुरस्कार’ समर्पण गरिएको हो । मञ्चले त्रैमासिक रुपमा आयोजना गर्ने स्रष्टा सिर्जनाअन्तर्गत पाँचौं शृंखलामा चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी), गजलकार भेषराज पोखरेल, सोमु अधिकारी र एकराज थापाले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

गजलकार हेमन्त निरौलाले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका प्रदेश प्रमुख अधिकारीले भाषा साहित्यले समाजलाई जोड्ने बताए । उनले समाज रुपान्तरणका लागि कला र साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । त्यसैगरी साहित्यकार सुवेदीले विराट आदर्श साहित्य मञ्चले कला, साहित्यप्रति रुची भएका युवाहरूलाई समेट्ने काम गरेकोमा प्रशंसा गरे । कार्यक्रममा स्रष्टा र सिर्जनाको छैटौं शृंखला पोखरामा गर्ने तयारी भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदनमा आधारित नाटक र वरिष्ठ आख्यानकार परशु प्रधानको छिडीभरिको आकाश कथामा आधारित नाटक विराटनगरसहित काठमाडौं र पोखरामा मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्