यसपटकको दशैंमा देवीको आगमन डोलीमा हुने, अतिवृष्टि तथा अनिष्ट हुने सम्भावना

यसपटकको दशैंमा देवीको आगमन डोलीमा हुने, अतिवृष्टि तथा अनिष्ट हुने सम्भावना

विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको विजया दशमीमा देवीको आगमन र गमनलाई महत्वका साथ हेरिने गरिन्छ ।

धार्मिक मान्यता अनुसार देवीको आगमन र गमनले मानवीय जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको बेग्लै महत्व छ । तर, यस वर्षको दशैंमा देवी भगवतीको आगमन र गमन दुवै साईत अनुकुल नरहेको पुरोहितहरुले बताएका छन् । असोज २१ बाट यसबर्षको दशैं अर्थात नवरात्र आरम्भ भएको छ । नेपालीहरुले दशैंको १० दिनसम्म देवी भगवतीको विभिन्न स्वरुपको पुजापाठ गर्दै विजया दशमी मनाउने गर्दछन् । नवरात्र नजिकिएसँगै हरेक वर्ष देवी भगवतीको आगमन र साईतलाई चासोको रुपमा हेर्ने गरिन्छ । पञ्चाङ्ग अनुसार यसपटकको नवरात्रमा देवीको आगमन डोलीमा र गमन हात्तीमा हुँदैछ । डोलीमा देवीको आगमन र हात्तीमा हुने गमन दुवै सुखद नरहेको पुरोहितहरुले बताएका छन् । डोलीमा सवार भएर देवीको आगमन हुँदा मृत्यूतुल्य कष्टहरु निम्तिने, अतिवृष्टि हुने र रोग तथा व्याधिले सताउने लगायतका सम्भावनाहरु बढे्र जाने धार्मिक मान्यता रहिआएको विराटनगरस्थित काली मन्दिरका मुख्य पुजारी बिष्णुहरि दाहालले बताउनुभयो ।

हिन्दु धर्मशास्त्र अनुसार साप्ताहिक बारको आधारको देवी भगवतीको आगमन र गमन निश्चित हुुने गर्दछ । नवरात्रको सुरुवात आईतबार वा सोमबार भए देवीको आगमन हात्तीमा र शनिबार वा मंगलबार भए देवीको आगमन घोडामा हुुने धार्मिक मान्यता छ । यस्तै बिहीबार वा शुक्रबार नवरात्र प्रारम्भ भए देवीको आगमन भने डोलीमा हुने विश्वास गरिन्छ । यसपटक बिहीबारको दिनबाट नवरात्र सुरु भएकाले माता दुर्गाको आगमन डोलीमा हुने हिन्दु पुरोहितहरुले बताएका छन् । डोलीमा माता दुर्गाको आगमन धेरै शुभ संकेत नमानिएपनि साँचो हृदयबाट पुजाआजा गर्नेहरु यो अशुभ प्रभावको भागिदार नहुने शास्त्रहरुमा वर्णन गरिएको विराटनगरस्थित काली मन्दिरका मुख्य पुजारी बिष्णुहरि दाहालको भनाई छ ।

धार्मिक मान्यता जेजस्तो भएपनि हिन्दु धर्मावलम्बीहरु यतिबेला आफु अनुकुल दशैं मनाईरहेका छन् । कोभिड महामारीका कारण पछिल्लो २ वर्षयता सबै चाडपर्वहरु प्रभावित भएपनि यसपटक भक्तजनहरु उही आस्था र विश्वासका साथ दशैंमा रम्ने प्रयास गरिरहेका छन् ।

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै यसपटक जिल्लाभरिका सबै मठमन्दिर र देवस्थलहरुमा आवश्यक स्वास्थ्य सर्तकताका उपायहरु अबलम्बन गरिएका छन् । विराटनगरको मेनरोडमा रहेको काली मन्दिरमा समेत स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । मन्दिर प्रवेश गर्ने सबै भक्तजनलाई मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ । भिडभाड नियन्त्रणका लागि भजनकिर्तन र लाखबाती बाल्ने कार्यक्रममा समेत यसपटक स्थगित गरिएको काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मिनाक्षी नेपालले बताउनुभयो ।

यसवर्ष भने असोज २१ गतेदेखि सुरु भएको नवरात्र असोज २९ गते देवीको विर्सजन भएपश्चात विधिवत रुपमा समापन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्