सुदूरपश्चिममा बाढीपहिरोबाट १५ जनाको मृत्यु, २८ जना बेपत्ता

सुदूरपश्चिममा बाढीपहिरोबाट १५ जनाको मृत्यु, २८ जना बेपत्ता

प्रकाशविक्रम शाह
धनगढी, कात्तिक ३ गते । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले प्रदेशमा पहिरोमा परेर डोटी, बैतडी र डडेलधुरामा १५ जनाको ज्यान गएको पुष्टि गरेको छ । यस्तै गरेर बझाङ, कैलाली र डोटीमा गरेर २८ जना बेपत्ता छन् ।

सो कार्यालयका अनुसार मृत्यु हुनेमा डोटीका नौ, बैतडीका चार र डडेल्धुराका दुई जनाको ज्यान गएको छ । उनीहरुको सोमबार मङ्गलबार राति ज्यान गएको हो ।
पहिरोमा परेर डोटीको सायल गाउँपालिका –६ खतिवाडाका ११ वर्षका आशिष कुन्जेडा, १४ वर्षका सागर कुन्जेडाको मृत्यु भएको छ । यस्तै गरेर डोटीकै जोरायल गाउँपालिका–३ का ६३ वर्षका जोगी सार्की , सोही पालिकाको वडा नम्बर ४ का ४२ वर्षका शेरबहादुर विक, १३ वर्षका मोहन विक, १३ वर्षकी पवित्रा विक, १६ वर्षका रबिन विक, शिखर नगरपालिका –११ कि ३६ वर्षकी मन्धरा बलायर र ५५ वर्षकी झुपरी सार्कीको मृत्यु भएको छ ।
बैतडीको सिगास गाउँपालिका–६ बसेडीका ७१ वर्षकी परुदेवी महरा, २५ वर्षका भानु पार्की, २१ वर्षकी पवित्रा पार्की र ३ वर्षका देवन पार्कीको पहिरोमा परेर ज्यान गएको छ । यस्तै गरेर डडेल्धुराको गन्यापधुरा गाँउपालिका– १ भात्काडाका ३२ वर्षका विष्णु अवस्थी र गन्यापधुराकै वडा नम्बर ३ बस्ने ६५ वर्षकी नरपता शाहीको पहिरोमा परेर मृत्यु भएको छ ।
बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मंगलबार विहान ४ बजे पहिरो जाँदा ७० वर्षकी उजली पार्की, ५०वर्षकी किहासु पार्की, ६ वर्षका आयसु पार्की , १२ वर्षकी हीमा पार्की, ८ वर्षकी सीमा पार्की , ६० वर्षका हर्क सार्की, उमेर नखुलेका धनगिरि सार्की , सीता सार्की , प्रभा सार्की , भूमिका सार्की , इस्वरादेवी सार्की , संजिव सार्की , सर्मिला सार्की , सुवास सार्की, विकास सार्की , मिकेस सार्की, मदन सार्की , कलु सार्की , एलिसा सार्की , कम्मा सार्की , सबिना सार्की, सरोज सार्की र सिम्जिबि सार्की बेपत्ता छन् ।
यस्तै गरेर नदीमा बगेर कैलालीका ३० वर्षका गणेश आउजी र डोटीका ७४ वर्षका वीरे रोकाया बेपत्ता भएका छन् । कैलालीमै कर्णाली नदीमा माछा मार्ने क्रममा तीन जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६१ वर्षका खडकबहादुर घर्तिमगर, ३५ वर्षका विक्रम घर्तिमगर र २६ वर्षका खडक राना मगर छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दलका अनुसार बझाङ थलारा गाउँपालिका–४ दिख्ला गाउँको पहिरोमा हराएकाहरुको खोजी कार्यका लागि बुधबार बिहान १०.५५ बजे सदरमुकाम चैनपुरबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको छ ।

सो हेलिकोप्टरमा सेना, प्रहरी लगायतका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित ४० जना गएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्