गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ४ गते । बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण आउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ ।
लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाइएको बालीमा बाढीले क्षति पु¥याएको छ । कृषि मन्त्रालयका अनुसार लुम्बनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको छ । लुम्बनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा ठूलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन ।
लुम्बनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा धान काटेरभित्र्याइसकिएको छ । पाल्पा, अर्घाखाँची र रोल्पाका किसानले धान भित्र्याउन सकेका छैनन् ।
किसानले ३६ हजार ४८० हेक्टर क्षेत्रफलमा धान काटेर खेतमै छाडेका छन् । त्यसमध्ये ६५ प्रतिशत अर्थात् २३ हजार ७१२ हेक्टर क्षेत्रफलको धानमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ । त्यसमध्ये २० प्रतिशतमा क्षति पुगेको छ ।
त्यसैगरी २०७८ साल असोज ३१ देखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा धान बालीमा अत्यधिक क्षति पु¥याएको छ ।
कृषि मन्त्रालयका अनुसार कैलाली जिल्लामा करिब ५४ प्रतिशत र कञ्चनपुर जिल्लामा करिब ४२ प्रतिशत धान बालीमा क्षति पु¥याएको छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीको पकेट क्षेत्र हो ।
प्रारम्भिक विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा धान बालीमा पुगेको क्षतिका कारण उत्पादनमा ५० प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।