प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ ।

प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको थियो । उक्त सम्झौता कार्यान्वयन प्रभावकारी भएपछि आर्थिक बर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्दा दर्ता र ९ करोडभन्दा बढी राजश्व संकलन भएको हो । सम्झौताका कारण अपराधिक घटना, अदालतको फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी काम भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार यस आर्थिक वर्षको ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिएको छ ।

यस्तै विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ गरी ३८५ वर्ष कैद भुक्तान भई, १ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार चोरी निकासीतर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने १८ जना मानिस पक्राउ गर्नुका साथै ३ करोड ६३ लाख ५७ हजार २५६ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने २१ जना मानिस र ४०९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै १२ लाख ५७ हजार ७५० राजश्व संकलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ गर्नुका साथै ११०५ क्यूफिट काठ बरामद गरी २३ लाख ७२ हजार ३३५ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उलंघन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ९८ लाख ५३ हजार राजश्व संकलन भएको छ ।

लागूऔषध नियन्त्रण तर्फ गाँजा १ सय ५७ किलो ३४५ ग्राम, चरेस ८ ग्राम २४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५१७ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु ६ हजार ४१७, मनोद्धिपक एम्पुल १ हजार ३०२ र मनोद्धिपक औषधीहरु २५४ क्याप्सुल नियन्त्रण गरिएको र ३०१ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६३७ बोट गाँजा नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्