जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको सपथ ग्रहण

जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको सपथ ग्रहण

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको आज सपथ ग्रहण सम्पन्न भएको छ । प्रादेशिक खेलकुद विकास बोडका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले सदस्यहरुलाइ सपथ खुवाउनुभएको हो ।

आज अन्तराष्ट्रिय कराँते खेलाडी प्रभाकर राना मगर, क्रिकेट खेलाडी रोजि राई, सर्ट टेनिस खेलाडी प्रतापसिंह कार्की, डोरी तान खेलाडी अन्जु सिग्देल र लक्ष्मण पोखरेलले सपथ ग्रहण गर्नुभएको छ । १२ सदस्य समितिमा माध्यमिक विद्यालयहरुबाट जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली पदेन सदस्य हुनुभएको छ भने यसअघि नै ब्याडमिन्टन खेलाडी सन्तोष कुमार राई बान्तवा र मार्सल आर्टकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले जिल्ला समिति सदस्यका तर्फबाट प्रतिनिधित्व गर्दै प्रादेशिक बोर्ड सदस्य भई सपथग्रहण गरिसक्नुभएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट एक एक जना अधिकृत सदस्य हुने छन् । यस्तै समितिमा शसस्त्र प्रहरी र नेपाली सेनाका अएक एकजना अधिकृतहरु आमन्त्रित सदस्य हुने व्यवस्था रहेको छ । यसका अतिरिक्त एकजना सदस्य सचिवका रुपमा प्रशासकीय अधिकृत रहने संरचना रहेको छ । प्रशासकीय अधिकृत भने प्रादेशिक खेलकुद विकास बोर्डले नियुक्त गर्नेछ । सपथ ग्रहण कार्यक्रममा सदस्यहरुलाई शुभकामना दिँदै सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुद र खेलाडीको हितमा गम्भिरतापूर्वक लाग्न सुझाव दिनुभयो ।

प्रादेशिक खेलकुद विकास बोर्ड गठनभएसँगै आफूहरुले खेलकुदका क्षेत्रमा निकै काम गरिसकेको भन्दै १४ वटै जिल्लामा खेलकुद विकास समिति गठन भइसकेको, कर्मचारी खटाउने प्रकृया आरम्भ भएको, बोर्डको आफ्नै कार्यालय सञ्चालन र राष्ट्रका लागि योगदान गर्ने खेलाडीहरुको हितका लागि मासिक सुरक्षा भत्ताको व्यवस्था गर्ने सम्मका कामलाई तिब्रतर रुपमा अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘छोटो समयमा धेरै राम्रा काम गरेका छौं, आशा छ हाम्रो कामको अनुशरण सातवटै प्रदेशले गर्नेछन् ।’ कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख शुसिल कँडेल, तालिम प्रशिक्षक प्रशिक्षण उपकेन्द्रका निर्देशक प्रविण राना, उप निर्देशक विनोद राउत, फुटबल प्रशिक्षक पारस चौधरी, धनकुमार लामालगायतका खेलक्षेत्रका व्यक्तित्वहरुको सभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्