राजन रावत
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै गठन हुने बताउनुभएको छ । हुम्ला सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा सो उहाँले बताउनुभयो ।
सरकार गठन लगत्तै तिहारको विदा परेको कारण मन्त्रिमण्डल गठनमा केही ढिलाई भएको भए पनि अब चाँडै गठन हुने बताउनुभयो । उहाँले तीन दलीय गठबन्धन अनुसार नयाँ सरकार बनिसकेकाले आफू प्रदेश राजधानी सुर्खेत पुगेपछि नेताहरुको बैठक राख्ने पनि बताउनुभयो । गत कात्तिक १६ गते उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री हुनु भएको थियो ।
यसअघि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाका समस्याका बारेमा मुख्यमन्त्री शाहीलाई अवगत गराउनु भएको थियो ।
कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो पटक उहाँ गृह जिल्ला हुम्ला शनिवार पुग्नु भएको थियो । गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षेति अनुगमन गर्न हुम्ला आउनु भएको हो । जिल्लाका सबै गाउँपालिकामा स्थलगत र हेलिकोप्टरबाट उहाँले अनुगमन गर्नुभएको थियो ।
उहाँ सोमबार नै सुर्खेत फिर्ता हुने कार्यक्रम रहेको छ ।