थपिँदै उद्योग

थपिँदै उद्योग

वीरेन्द्रनगर समाचारदाता
सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम हालै आएर तीव्र भएको छ । २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा गति लिएको हो ।

सानो लगानीबाट सुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग धमाधम स्थापना हुन थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कसप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी उद्योग छन् ।

कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले अहिले एक करोड रुपियाँभन्दा बढी लगानीका उद्योगहरू स्थापना भएको बताउनुभयो । त्यस्तो लगानीका चारवटा उद्योग निर्माणाधीन छन् । कर्णाली कोल्डचेन लजिस्टिक उद्योग २० करोडमा निर्माण हुँदै छ । सुरक्षा ग्याबिन एक करोड र पीएन फुड्स एक/एक करोडमा लगानी निर्माण हुँदै छन् । प्लास्टिकजन्य उद्योगसम्बन्धी एमके नेपाल उद्योग २५ लाखमा निर्माणाधीन छ ।

पछिल्लो समय सुर्खेत डेरी उद्योग १५ करोड, भवानी छापाखाना ५० लाख र गङ्गामाला काष्ठ तथा फर्निचर उद्योग ३० लाखको लगानीमा सञ्चालनमा आएका छन् । ९० रोपनीको क्षेत्रफल रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पाँचवटा औद्योगिक भवन र पाँचवटा व्यावसायिक सटर रहेका छन् भने २७ वटा उद्योग छन् । त्यसमध्ये २१ वटा उद्योग सञ्चालनमा रहेका हुन् । औद्योगिक क्षेत्रमा ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको प्रमुख बञ्जाडेले जानकारी दिनुभयो । दुईवटा उद्योग कब्जामा लिएर उद्योगको मूल्याङ्कन भइरहेको उहाँको भनाइ छ ।

औद्योगिक क्षेत्रको आम्दानी पनि बढेको छ । औद्योगिक क्षेत्रले आर्थिक वर्ष २०७७/७८ मा ५३ लाख २५ हजार आम्दानी गरेको छ । औद्योगिक क्षेत्रको ५०० मिटर सडक कालोपत्रे गरिएको छ । अब ३०० मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रमा ७०० मिटर पर्खाल लगाउने काम भएको छ । उहाँले भौतिक पूर्वाधार राम्रो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी गर्ने क्रम बढ्दो छ । पुराना बन्द भएका उद्योगलाई खारेजी गरेर नयाँ स्थापना भएका छन् । औद्योगिक पूर्वाधारमा राम्रो भएको छ । ” लगानीकर्ता आकर्षित भए पनि जग्गा अभाव भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्