पहिलो पटक प्राकृतिकरुपमा सालको बिउबाट बिरुवा उत्पादन

पहिलो पटक प्राकृतिकरुपमा सालको बिउबाट बिरुवा उत्पादन

विजयकुमार साह
ढल्केवर । डिभिजन वन कार्यालय धनुषाले निःशुल्क वितरण गर्न पहिलो पटक सालको बिरुवा उत्पादन गरेको छ । मसला, निम, तेजपात सिसोलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दैआएको भए पनि प्राकृतिकरुपमा उम्रेका सालको बिउबाट बिरुवा उत्पादन गरेको यो पहिलो पटक भएको बताइएको छ ।

सव डिभिजन वन कार्यालय लालगढस्थित नर्सरीमा पहिलो पटक पाँच हजार स्थानीय जातको सालको बिरुवा उत्पादन गरेको त्यहाँका वन अधिकृत मदन चौधरीले बताउनुभयो । वन क्षेत्रमा सालको बिरुवा आफैँ पुनःउत्पादन हुने गरेको भएपनि सर्वसाधारणले लगाउने निजी वन, बगैँचा र खाली जग्गामा वृक्षारोपण गर्न सालको बिरुवा उत्पादन गरेको भन्नुभयो ।

बिरुवा उत्पादन गर्न वनमा भएका हस्टपुष्ट सालको रुखको बिउ संकलन गरेर बिरुवा उत्पादन गरिएको छ । तराइको जङ्गलमा सालका रुख मासिदै गएपछि त्यसलाई परिपूर्ति गर्न सहयोग पुग्ने अधकृत चौधरीले भन्नुभयो ।
पहाडी जिल्लामा सहजै सालको बिरुवा उत्पादन गर्न सकिने भएपनि तराइको मौसम अनुकूलमा हुर्कने खालको बिरुवा उत्पादन गरेको दाबी उहाँले गर्नुभयो । उत्पादन गरेको बिरुवाको उचाई एक फिटभन्दा अग्लो भइसकेको छ । दुई–तीन फिटको भएपछि सर्वसाधारणलाई बाँड्ने हो, अधिकृत चौधरीले जानकारी दिनुभयो ।

कात्तिक मंसिर बिरुवा रोप्न उपयुक्त समय नभएकाले आउँदो जेष्ठ र असार महिनाबाट बिरुवा वितरण गरिन्छ । नर्सरीमा यस अतिरिक्त महगनी, शिरीष, लिपटिस, मसला, गम्हाइर, इपिलिपी, हरोबरो, बकाईनो, खैयर तेजपात, बइर ,अमला, लोकल आसन आदी जातका रूखको बिरुवा उत्पादन गरिएको छ ।
उत्पादन गरिएको बिरुवा डिभिजन वन कार्यालय धनुषाले जाँच पास गरेपछि नगरपालिका, गाउँपालिकाका तथा स्थानीयवासीलाई निःशुल्क उपलब्ध गराइने र बाँकी रहेकालाई वन क्षेत्रमा वृक्षारोपण गरिनेछ ।

वन कार्यालयले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्क रूपमा वितरण तथा वनक्षेत्रमा वृक्षारोपण गर्दै आइरहेको डिभिजन वन कार्यालय धनुषाका अधिकृत सुनिलकुमार कर्णले भननुभयो ।

लालगढ धनुषाको नर्सरीमा प्राकृतिकरुपमा उम्रेका सालको बिउबाट उमारिएको बिरुवा । तस्बिर:विजयकुमार साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्