दीर्घकालीन प्रतिफलमा ध्यान दिन गभर्नरको आग्रह

दीर्घकालीन प्रतिफलमा ध्यान दिन गभर्नरको आग्रह

गोरखापत्र समाचारदाता
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल नाफा खोज्नेभन्दा पनि दीर्घकालीन प्रतिफललाई ध्यान दिनुपर्नेतर्फ बैङ्कहरूको ध्यानाकर्षण गराउनुभएको छ । केही वित्तीय संस्थाले संस्थागत अनुशासन उल्लङ्घन गर्दा समग्र बैङ्किङ क्षेत्रमा असर परेकाले राष्ट्र बैङ्क हस्तक्षेप गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

नेपाल बैङ्कर्स सङ्घको मङ्गलबार राजधानीमा आयोजित ३५औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले बैङ्किङ क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट अघि बढिरहे पनि राष्ट्र बैङ्कले माइक्रो म्यानेजमेन्ट गर्न नचाहने बताउनुभयो ।

ग्राहकको आवश्यकताअनुसार माग सम्बोधन गर्दा गत आर्थिक वर्षमा कर्जा विस्तार उच्च भएको भन्दै उहाँले भन्नुभयो, “बैङ्कहरूले यसबीचमा वित्तीय सुशासन उल्लङ्घन गरे । कोभिडपछि छ महिनासम्म कर्जा तिर्ने समय थप गर्दा कर्जा रिकभरी भएन । कर्जाको विस्तार अत्यधिक भएका कारण तरलताको ठूलो समस्या भयो । अहिले संयमित भएर कर्जा विस्तार र आर्थिक वृद्धिमा सहयोग पुग्ने क्षेत्रमा कर्जा लगानी गर्नुस् । ”
सङ्घका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले विगतको केही अवधिमा बैङ्कहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । चुनौती व्यवस्थापन गर्ने अवसर पाएको भन्दै उहाँले कोभिडबाट बैङ्क, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशल व्यवस्थापन गर्न सक्षम भएको उहाँको भनाइ थियो ।

वाणिज्य बैङ्कहरूले वित्तीय बजारको कुल निक्षेपमा ८८ प्रतिशत र कर्जामा ८९ प्रतिशत होल्ड गरेको भन्दै उहाँले भन्नुभयो, “तर बैङ्करहरू कहिलेकाहीँ आफैँ आत्तिएर समस्या हुने गरेको छ । ” कार्यक्रममा पूर्वराजदूत तथा सिटिजन्स् बैङ्कका पूर्वअध्यक्ष डा. शङ्कर शर्मालाई सम्मान गरिएको थियो ।

सङ्घको अध्यक्षमा उपाध्याय
साधारण सभाले कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा सङ्घको नयाँ कार्यसमिति चयन गरेको छ ।
निवर्तमान अध्यक्ष भुवन दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि सङ्घमा नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनुभएको छ ।

सङ्घका सदस्यहरूमा मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, माछापुच्छ«े बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन हुनुभएको छ ।

सङ्घका पूर्वअध्यक्षहरू ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, अनिल शाह, अशोकशमशेर राणा सल्लाहकारमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्