औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउने घोषणा

औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउने घोषणा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिले सङ्घअन्तर्गत रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश सरकार मातहत ल्याइने बताउनुभएको छ । सङ्घअन्तर्गतका औद्योगिक क्षेत्र अहिले बेवारिसे रहेको बताउँदै उहाँले बागमती प्रदेशमा रहेका औद्योगिक क्षेत्रलाई प्रदेश सरकारअन्तर्गत ल्याउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूसमक्ष प्रदेश सरकारले प्रस्ताव पठाएको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको दोस्रो सम्मेलनको बुधबार हेटौँडामा उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले औद्योगिक क्षेत्रहरू प्रदेश र स्थानीय सरकारलाई जिम्मा नदिन बेवारिसे अवस्थामा पुगेको बताउनुभयो ।

औद्योगिक क्षेत्रका सम्पत्तिको दुरुपयोग भएको छ भन्दै उहाँले भन्नुभयो, “प्रदेशभित्र रहेका हेटौँडा, बालाजुसहित चारवटा औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउन प्रस्ताव पठाएका छौँ । ”

विदेशी लगानी भिœयाउन प्रदेशस्तरीय लगानी बोर्ड र नीति आवश्यक भएको बताउँदै मुख्यमन्त्री पाण्डेले नेपालमा घरेलु तथा साना उद्योग राज्यको प्राथमिकतामा परेको छैन भन्नुभयो । उहाँले नेपाली उत्पादनको संरक्षण र प्रयोगका लागि हामीमा परिवर्तन आवश्यक भएको औँल्याउँदै उद्योगहरूको वर्गीकरण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले साना तथा घरेलु उद्योगलाई सहुलियतपूर्ण ऋण आवश्यक भएको बताउँदै उद्योगी व्यवसायीसँग कर लिने र सुविधा दिने वर्तमान गठबन्धन सरकारको नीति रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्याम गिरी, बागमती प्रदेश अध्यक्ष सूर्यबहादुर कँडेल, उद्योग सङ्घ मकवानपुरका अध्यक्ष लेखराज पोखरेललगायतले उद्योगमैत्री नीति निर्माणमा जोड दिनुभएको थियो ।

अधिवेशनमा बागमती प्रदेशका विभिन्न जिल्लाका गरी २५० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्