भारतले बाटो नदिएपछि जनगणनाको टोली नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने

भारतले बाटो नदिएपछि जनगणनाको टोली नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने

काठमाण्डाै । भारतीय प्रशासनले बाटो नदिए पछि जनगणनाका लागि खटिएका टोली नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिँडेको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएका केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्छ । भारतीय भूमि हुँदै भने एकैदिनमा पुगिन्छ ।

सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएका हुन् ।

यसअघि भारतीय प्रशासनको बाटो प्रयोग गर्न अनुमति कुरेर गणकहरु दार्चुला सदरमुकाम खलङ्गामा रोकिएका थिए । खलङ्गाबाट नेपाली बाटो हुँदै छाङरु र तिङ्कर पुग्न सजिलो छैन । खलङ्गाबाट तिङ्कर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।

जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरीसँग समन्वय गरेर बाटो पार गरिने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । छाङरु र तिङ्करमा जनगणना गर्न पालिका र सुरक्षाकर्मीसँगै सीमा सुरक्षा बलसँग समन्वय गरिएको विभागले जनाएको छ ।

यसअघि जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्