महोत्तरीमा हराउने मानिस बढे

महोत्तरीमा हराउने मानिस बढे

नगेन्द्रकुमार कर्ण
जलेश्वर । महोत्तरी जिल्लामा साउन महिनादेखि असोज महिनासम्ममा ५० जना हराएको (बेपत्ता) देखिएको छ । बेपत्ताहरुमध्ये १५ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले साउनदेखि असोज महिनासम्ममा ज्येष्ठ नागरिक, महिला, बालकबालिका गरी ५० जना मानिस बेपत्ता भएको उजुरी रहेको जानकारी दिनुहुँदै सोमध्ये १५ जना मात्रै फेला परेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता विष्टले आ.व.२०७८÷०७९ को पहिलो त्रैमासिकमा (साउन, भदौ र असोज महिना) सम्पादन गरिएको कार्यहरुको जानकारी दिनुहुँदै सो अवधिमा ज्येष्ठ नागरिक दुई, महिला २२, बालक चार तथा बालिका २२ गरी जम्मा ५० जना हराएको देखिएको बताउनुहुँदै सो मध्ये ज्येष्ठ नागरिक दुई जना, महिला पाँच जना, बालक एक जना र बालिका चारजना गरी १५ जना मात्रै फेला परेको जानकारी दिनुभयो ।

उहाँले प्रहरीमा हराएको घटनाको निवेदन आउने गरे पनि कतिपय घटनामा घर परिवारले फेला पारे प्रहरीमा जानकारी नगराउँदा हराएको सङ्ख्या बढी देखिएको बताउनुहुँदै हराएकामध्ये केही मात्रै फेला पार्न समस्या हुने गरेको बताउनुभयो । जिल्लामा हराएकामध्ये महिला र बालिकाको सङ्ख्या धेरै देखिएको छ भने फेला नपर्ने सङ्ख्यामा पनि दुवै नै बढी देखिएको छ ।

किशोर किशोरीले भागी विवाह गर्ने तर परिवारलाई खबर नगर्ने, वैदेशिक रोजगारीमा गएका पतिहरुको रकम लिएर फरार हुने, मानसिक असन्तुलन, पारिवारिक झैझैगडाका कारणले मानिस हराउने सङ्ख्या बढेको जलेश्वर अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) का संयोजक चण्डिका अधिकारीले जानकारी दिनुभयो । उहाँले परिवारमा एकले अर्कोको मनोभावना नबुझ्ने, आर्थिक कारणलगायतले मानिस हराउने गरेको बताउनुहुँदै परिवारमा रहेको संवादहीनतालाई तोड्ने हो भने यो कार्यमा कमी ल्याउन सकिने बताउनुभयो ।

परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् तर प्रहरीले खोजी कार्यमा तदारुकता नदेखाउँदा पनि कतिपय मानिसहरु फेला पार्ने समस्या हुने गरेको देखिए पनि सबैजना भने बेपत्ता नै रहेको भन्न नसकिने उहाँको भनाइ थियो । केन्द्रका संयोजक अधिकारीले भन्नुभयो, ‘हराएका कतिपयबारे परिवारजनलाई जानकारी हुन्छ तर उनीहरुले प्रहरीलाई सो बारे जानकारी गराउनुपर्नेमा त्यस्तो नगर्दा हराएको बढी देखिने गरेको हो ।’

फाइल:फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्