थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित

थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित

काठमाडौं । थ्री स्टार क्लबले कतार एयरवेज शहिद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलले हरायो । ललितपुर डर्बीमा थ्री स्टारलाई जिताउन तीनवटै गोल रक्षकबाट सम्भव भयो । थ्रीस्टारका रक्षक निशान खड्का, राफायल विडियस रिम र अनन्त तामाङले गोल गनुभयो ।

खेलको सुरुवाती १५ मिनेट प्रतिस्पर्धात्मक देखिएको खेलमा थ्री स्टारले २१औं मिनेटमा खाता खोलेको थियो । निशानले करिव २५ यार्ड टाढा पाएको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । त्यस लगत्तै च्यासलले पेनाल्टीको अवसर गुमायो ।

२६औं मिनेटमा च्यासलका विकास मेराग्लिया पेनाल्टीमा चुक्नुभएको थियो । विकासको पेनाल्टी प्रहारलाई थ्री स्टारका गोलरक्षक वाइपी नाजाङगाले सजिलै विफला पार्नुभएको थियो । डिबक्स भित्र थ्रीस्टारका रक्षक अनन्त तामाङले विकासलाई नै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो।

त्यसपछि ४५औँ मिनेटमा रापायलले अनन्त तामाङको फ्रिकिक पासमा हेडगोल गर्दै थ्री स्टारको अग्रदा दोब्बर बनाउनुभयो । ५८औँ मिनेटमा अनन्त तामाङले हेमन्त थापामगरको कर्नर पासमा पोस्ट नजिकबाट हेड गोलगर्दै थ्री स्टारलाई सानदार जित दिलाउनुभयो । जितसँगै थ्री स्टारले तीन अंक बनाएको छ ।

च्यासलले हारबाट लिगको सुरुवात गरेको छ । थ्री स्टारका निशान खड्का ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । खेलपछि थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो खेल खेल्न गाह्रो हुने बताउनुभयो ।

‘सुरुवाती केही समय दबाबमा रह्यौँ । गोलरक्षकले पेनाल्टी रोकेपछि खेल्न सजिलो भयो । सुरुवातमै गोल गरेकोले पनि जित निकाल्न सजिलो भयो । आगामी खेलमा सुधार गर्दै जानेछौँ,’ श्रेष्ठले भन्नुभयो ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले हारको कारण रेफ्रीको गलत निर्णय भएको बताउनुभयो । ‘खेलाडी र क्लबले मिहेनत गरेरमात्र हुँदैन । आज रेफ्रीको निर्णय उल्टो भयो । यसले फुटबल विकासमा समेत धेरै प्रभाव पार्छ । फुटबलमा रेफ्रीको तह पनि सुधार गर्नु आवश्यक छ । आज भएको फल दिइएन । नभएको फल दिइयो । कार्ड दिने निर्णय पनि त्यस्तै भयो,’ साहुखलले भन्नुभयो ।

आइतबार ब्रिगेड ब्वाईज क्लब र एपीएफ क्लब तथा जावलाखेल युथ र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तस्बिर: थ्री स्टार क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्