ए डिभिजन लिग : ब्रिगेडको रोमाञ्चक जित

ए डिभिजन लिग : ब्रिगेडको रोमाञ्चक जित

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो ।

ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र विक्की तामाङले गोल गरे पनि टोलीको हार टरेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेडले ११ औँ मिनेटमा खाता खोलेको थियो । दिनेशले करिब ३५ यार्ड लामो फ्रिकिक प्रहारमा सोझै जाली चुमाउनुभएको थियो । त्यसपछि जोसिएको एपीएफले १७ औं मिनेटमा बराबरी गोल फर्कायो । आशिषले आवास लामिछानेको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

त्यसपछि ६५ औँ मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई पुनः अग्रता दिलाउनुभयो । उहाँले सुरज गुरुङको पासमा गोल गर्नुभएको थियो ।

७७ औँ मिनेटमा एपीएफका विक्की तामाङले हेडगोल गर्दै खेललाई फेरि २–२ गोलको बराबरीमा ल्याउनुभयो । उहाँले रवि थिङको पासमा गोल गर्नुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका सुरज गुरुङले गोल गर्दै टिलीलाई महत्वपूर्ण जित दिलाउनुभयो । एपीएफका रक्षकले क्लियर गर्न नसकेको बललाई सुरजले सोझै जाली चुमाउनुभएको थियो । ब्रिगेडका रोशन रानामगर ‘म्यान अफ दी म्याच’ हुनुभयो । लिगमा पहिलो जितसँगै ब्रिगेडले तीन अङ्क बनाएको छ ।

खेलपछि ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो खेलको जितले खुशी थपेको बताए । ‘खेल प्रतिस्पर्धात्मक थियो । हामी गोलले मात्रमाथि भयौं । पहिलो जितले ठूलो राहत मिलेको छ । विदेशी खेलाडीको तालमेल अझै मिलेको छैन । अन्य खेलमा गल्तीलाई सुधार गर्दै जानेछौं,’ श्रेष्ठले भन्नुभयो ।

एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीले प्लान अनुसार खेल्न नसक्दा हार खेपेको बताउनुभयो । ‘खेल टप थियो । अन्तिममा बल होल्ड गर्न सकेनौँ । आगामी खेलमा सुधार गर्दै जानुको विकल्प छैन,’ थापाले भन्नुभयो । आइतबारको अर्को खेलमा मनाङ मर्स्याङ्दी र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्