चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध निर्माण

चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध निर्माण

विजयकुमार साह
ढल्केवर । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरले चुरे संरक्षण गर्न गत आर्थिक वर्षमा ४० स्थानमा बाँध (चेक ड्याम) निर्माण गरेका छन् ।

चुरेको नदीजन्य पर्दाथलाई चुरेमै रोक्न चुरे क्षेत्रको खहरे खोलामा बाँध निर्माण गरिएका हुन् । जनकपुर इकाइले आफ्नो कार्य क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लामा पर्ने जलाद, बिगही, रातु, लखनदेवी, बाग्मती, महरा र लालबकैया नदीको खहरेमा त्यतिको सङ्ख्यामा बाँध निर्माण गरेका हुन् । जनकपुर इकाइले आर्थिक वर्ष ०७६/०७७ मा चुरे क्षेत्रको ४५ ठाउँको खहरे खोलामा बाँध निर्माण गरेका छन् । चालु आर्थिक वर्षमा पनि चुरे क्षेत्रको ४० ठाउँको खहरेमा बाँध निर्माण गर्ने लक्ष्य कार्यालयको छ । चुरे क्षेत्रको माटो, बालुवा तथा गेगरलाई चुरे क्षेत्रमै रोक्न चुरेका खहरे तथा खोल्सीमा साना–ठूला बाँध निर्माण गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख शिवकुमार पोखरेलले बताउनुभयो।

निर्माण बाँधले चुरेको माटो चुरेमा राख्नुका साथै चुरे क्षेत्रमाथि भइरहेको अत्याधिक दोहनलाई पनि नियन्त्रण गर्न सहयोग पुगेको छ । यस्ता बाँध चुरेको माथिल्लो क्षेत्रका खोल्सी तथा खहरेमा धेरै बाँध निर्माण गर्न जरुरी रहेको उहाँले भन्नुभयो ।‘खोल्सीमा बनाइएका बाँधले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव रोक्ने, माटो र बालुवालगायतका नदिजन्य पदार्थलाई चुरेमै राख्न मद्दत पुगेको छ । अहिले बाँधका कारण चुरेबाट हुने क्षति न्यून भएको छ, इकाई प्रमुख पोखरेलले भन्नुभयो ।’

बाँध निर्माण गरिएको स्थान तथा छेउमा बाँसको बिरुवालगायत विभिन्न प्रजातिको वृक्षरोपण गरिएको छ । खहरेको छेउमा यसरी बिरुवा रोप्दा खहरे फैलिन नपाउने र क्षति कम हुने जनकपुर इकाइका इन्जिनियर देवपुजन यादवले जानकारी दिनुभयो । प्रथम राष्ट्रपति डा. रामवरण यादवको सक्रियताका कारण सात वर्षअघि सरकारले गुरुयोजना नै बनाएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको छ ।

सुरुमा यो कार्यक्रमबारे स्थानीय जनता तथा नीति निर्मातालाई पनि जानकारी थिएन । तर, अहिले यो कार्यक्रम चुरे जोगाउने महत्वपूर्ण माध्यम भएको छ । समितिले चुरेमै केन्द्रित गरेका कामको भने नतिजा देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्