चिसो बढेपछि भेडा गोठहरु तल्लो क्षेत्रमा झरे

चिसो बढेपछि भेडा गोठहरु तल्लो क्षेत्रमा झरे

सन्तोष राउत
सोलुखुम्बु । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै विस्तारै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष विनासिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु औल झारिएको भेडापालक व्यवसायीहरुले बताउनुभयो ।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरुले पुस्तौँअघिदेखि अँगाल्दैआएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भेडापालकहरुको भनाई छ । सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने सोलुखुम्बुको सल्यान– ५ का व्यवसायी प्रवेश राईले बताउनुभयो ।

“यो पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न”, राईले भन्नुभयो । भेडा पालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको व्यवसायीहरुको भनाई छ । अहिले हिमालमा चिसो हुने भएकाले मध्यपहाडी भेगका जङ्गलमा अधिकांश भेडागोठहरु रहने गर्छन् ।

मुक्लीका परशुराम गुरुङ्गले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडागोठ लाने र फेरि गर्मी सिजन हुरु भएपछि क्रमशः फर्काउने बताउनुभयो । भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुदैन, तापक्रमअनुसार गोठ सार्नु पर्छ, उहाँले भन्नुभयो ।

मुख्यतः पुर्वी पहाडका गुरुङ जातिको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भएपनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय सामूदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण तथा युवापुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरुको भनाई छ ।

कुनै सामुदायिक वन उपभोक्ता समूहहरुले भेडाको चरणक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुनेगरेको व्यवसायीहरुको भनाई छ । “सिजनअनुसार सबै क्षेत्रमा भेडा डुलाउनु पर्ने भएपनि केही समुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ” मुक्लीका खड्गबहादुर गुरुङले बताउनुभयो ।

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडोयाममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गर्ने गरिन्छ । यता हिन्दु धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संंस्कारमा राडी आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्