‘अब दोस्रो चरणको आर्थिक सुधार’

‘अब दोस्रो चरणको आर्थिक सुधार’

दोस्रो चरणको सुधारले अर्थतन्त्रमा ठूलो सुधार ल्याई मुलुकलाई विकसित राष्ट्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
राधा चालिसे
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धिका लागि दोस्रो चरणको सुधार आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजतजयन्ती समारोहलाई बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘दोस्रो चरणको सुधारले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनेछ र मुलुकलाई विकसित राष्ट्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ । उहाँले बहुदलीय प्रजातन्त्र पुनःस्थापनालगत्तै २०४८ सालपछि नेपाली काँग्रेसको सरकारले ल्याएको पहिलो चरणको आर्थिक सुधारका कार्यक्रमले आर्थिक विकासलाई तीव्रता दिएको स्मरण गराउनुभयो ।

उहाँले खुला बजारमुखी अर्थनीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमीकमजोरीको विश्लेषण गरेर समृद्धिको बाटो तयार गर्नु सरकारको प्राथमिकता रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि स्पष्ट पार्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गर्नुभयो । अर्थतन्त्र पुनरुत्थान गर्न सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

विकासका लागि छुट्टै कार्यक्रम
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । उहाँले त्यसका लागि ऐन संशोधन कार्य अगाडि बढाइएको पनि जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त हुन नसकेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले पछिल्लो समय केही विलासिताका वस्तुका आयातमा कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले मौद्रिक नीतिको संशोधनमार्फत नेपालमा विभिन्न आठ विदेशी मुद्रामा गैरआवसीय नेपालीले व्यक्तिगत र संस्थागत खाता खोल्न सक्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने र नीतिगत भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले मुलुकमा लाइसेन्सराजको अन्त्य हुनुपर्ने, राजनीतिक दलहरूमा दरिलो इच्छाशक्ति हुनुपर्ने र सरकारी काम गर्ने कार्यशैलीलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नीतिगत स्थायित्वले मात्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

खुला बजार नीतिले निजी क्षेत्रको विकास
उद्योगपति एवं सभासदर विनोद चौधरीले २०४८ को आर्थिक सुधारले नेपालमा निजी क्षेत्रको विकास भएको चर्चा गर्नुभयो । उहाँले खुला बजार अर्थनीतिले निजी क्षेत्रले देशभित्र निकै प्रगति गरे पनि अपेक्षित रूपमा विश्वभर फैलन भने नसकेको बताउनुभयो । उहाँले मुलुकलाई पुनः लाइसेन्सको युगमा फर्काउन केही मानिस लागिरहेकोमा आपत्तिसमेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङरघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको विकासका लागि विद्यमान एक दर्जनभन्दा बढी कानुन संशोधन हुनुपर्ने सुझाव दिनुभयो । उहाँले बैङरकको तरलता अभाव लामो समयसम्म रहँदा र पुँजीगत खर्च बढाउनु नसक्दा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठिन हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसङरघका अध्यक्ष विष्णु अग्रवालले दोस्रो चरणको आर्थिक विकासका लागि नीतिगत सुधारको खाँचो रहेको बताउनुभयो । कुनै पनि नीतिगत परिवर्तन गर्दा सरोकालवालासँग छलफल गर्ने संस्कृतिको विकास हुनुपर्ने उहाँको भनाइ छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उहाँले सरकारको ढुकुटीमा रहेको रकम परिचालन गरेर तरलता अभावलाई अन्त्य गर्न, पुँजी गत खर्च बढाउन, दलाली र लाइसेन्स पद्धतिको अन्त्य भएमा मात्र विकास सम्भव भएको बताउनुभयो । उहाँले राष्ट्र बैङरकको पछिल्लो नीतिले महँगी बढाउन भूमिका खेलेको पनि टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बराललगायत पूर्वअध्यक्षहरूले संस्थाले गर्दै आएको काम र आर्थिक पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताबारेमा चर्चा गर्नुभयो ।

विभिन्न व्यक्ति सम्मानित
सेजनको रजत समारोहमा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरिएको छ । समारोहमा आर्थिक पत्रकारिताको क्षेत्रमा विशेष योगदान गरेबापत प्रा.डा. अच्चुत वाग्ले र राजीव उपाध्यायलाई सम्मान गरिएको थियो । उहाँहरूलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै, यस वर्षको सेजन अवार्ड पत्रकार रमेशकुमार न्यौपाने र सुनिता कार्कीलाई प्रदान गरिएको छ । सञ्जय न्यौपाने फेलोसिप सरस्वती ढकाललाई र सेजन फेलोसिप हिमाल लम्साललाई प्रदान गरिएको छ ।
सोही अवसरमा सेजनद्वारा प्रकाशित स्मारिक अर्थनीतिको विमोचन पनि गरिएको छ । यस वर्षको अर्थनीति दोस्रो चरणको आर्थिक सुधारमा केन्द्रित रहेको संस्थाका अध्यक्ष जनार्दन बरालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्