उडान बढाउँदै निगम

उडान बढाउँदै निगम

विश्वास रेग्मी
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ ।

थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले उद्घाटन गर्नुभयो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार थपिएका दुई उडान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र राति नै फर्किने गरी तालिका बनाइएको छ । यसअघि दुबईका उडान रातिमा मात्र हुने गथ्र्यो र अर्को दिन बिहान मात्र नेपालमा अवतरण हुने गथ्र्यो । काठमाडौँ–दुबई रुटमा यात्रुको अत्यधिक चाप बढेको र उडान सङ्ख्या थप्नुपर्ने मागसमेत आएकाले उडान थप गरिएको उहाँले जानकारी दिनुभयो ।

दुबईबाहेक निगमले साउदी अरबको रियादमा पनि उडान सुरु गर्दै छ । लामो समयको प्रक्रियापछि रियाद उडानको सम्पूर्ण तयारी सकिने चरणमा रहेको निगमले जनाएको छ । अहिले साउदी अरबको उड्डयन नियामक (गाका)सँग यसबारे छलफल भइरहेको र छिट्टै उक्त क्षेत्रमा पनि उडान सुरु हुने कार्यकारी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । निगमले कोरोना सङ्क्रमणपूर्व नै रियाद उडानको योजना सार्वजनिक गरिसकेको थियो । यद्यपि कोरोनाका कारण उक्त योजना अघि बढ्न सकेन । भारतका तीन गन्तव्यमा उडान गर्दै आएको निगम पछिल्लो पटक मुम्बई र बैङ्ग्लोरमा पनि उडानको अन्तिम तयारीमा थियो । भारतमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि तत्काललाई उक्त उडान स्थगित गर्ने सहमति भएको छ । अवस्था सामान्य बन्नासाथ उक्त क्षेत्रमा उडान सुरु गर्नेे निगमको योजना छ । निगमले अहिले भारतमा दैनिक एउटा उडान गरिरहेको छ ।

उडान भरिभराउ
काठमाडौँबाट निगमले विभिन्न नौवटा गन्तव्यमा उडान गरिरहेको छ । अधिकांश उडानमा यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ। अहिले निगमका प्रायः सबै उडानमा ९० प्रतिशतभन्दा माथि यात्रु रहने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाल फर्कने उडानमा भने ९० प्रतिशतभन्दा केही कम यात्रु रहेको उहाँले बताउनुभयो । पछिल्लो समय नयाँदिल्लीसहित नेपालीको रोजगारी गन्तव्य रहेका क्षेत्रमा उडानको चाप बढी रहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्