निश्चल राय मृत्यु प्रकरण : संघर्ष समितिद्वारा चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक

निश्चल राय मृत्यु प्रकरण : संघर्ष समितिद्वारा चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित १४ वर्षीय निश्चल राय मृत्यु प्रकरणको छानबिनमा प्रहरी गम्भीर नभएको भन्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

समितिले घटना छानबिन तथा अनुसन्धानमा प्रहरीले ध्यान नदिएको निष्कर्ष सहित मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । सोमबार समितिले आन्दोलनको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंसिर २१ गते विद्यार्थी प्रर्दशन र २४ गते बुढीगंगामा एक घण्टा चक्का जाम गर्ने समितिको तयारी छ । पिडित परिवारको मागलाई राज्यले सम्बोधन नभए मंसिर २७ गते दुईघण्टा र २८ गते तीन घण्टा चक्काजाम गरिने संघर्ष समितिले जनाएको छ । समितिका अनुसार थप आन्दोलनका कार्यक्रमहरु अन्तर्गत पौष १ गते बुढीगंगा र विराटनगरको बजार बन्द तथा पौष २ गते मोरङ जिल्लामा आम हड्ताल गरिनेछ ।

बुढीगंगाको स्थानीय बासिन्दा सम्मिलित संघर्ष समितिले उच्चस्तरीय छानबिन समिति गठन गरि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै आएको छ । यसका साथै स्व. निश्चल रायलाई सहिद घोषणा गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने तथा शान्ति सुरक्षा सु–व्यवस्थापन गरिनुपर्ने उनीहरुकोे माग छ ।

कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षीय राय २४ गते बिहान सिंघीया खोलामा मृत फेला परेको थिए । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशंका परिवारले व्यक्त गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्