पुस ४ गतेदेखि बालबालिकालाई कोरानाविरुद्धको खोप दिइने

पुस ४ गतेदेखि बालबालिकालाई कोरानाविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले आगामी पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. सागर दाहाल जानकारी दिनुभयो । विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको डा. दाहालले जानकारी दिनुभयो ।

हिमाली जिल्लाका लागि एक सयभन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकी जिल्लामा दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लाका जिल्लामा मोडर्ना खोप अभियान सुरु हुने दाहालले जानकारी दिनुभयो ।

यसअघि सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ । बाँकी खोप १२ देखि १८ वर्ष उमेर समुहका स्वस्थ किशोरकिशोरीलाई पनि दिइएको थियो ।

आगामी आइतबार १९ लाख ६५ हजार छ सय डोज मोडर्ना खोप आउने विभागको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो । योसँगै नेपालमा आजसम्म १६ लाख ८६ हजार ४ सय डोज मोडर्ना खोप आइसकेको छ ।

सरकारले तीन महिना पूरा भएका गर्भवतीहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेको छ । नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ ।

नेपालमा खोप सुरु भएदेखि आजसम्म एक करोड ९९ लाख पाँच ५०१ मात्रा खोप लगाइएको छ । जसमा कुल जनसङ्ख्याको ३५.७ प्रतिशतले पहिलो र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने लक्षित जनसङ्ख्याले ५४.४ एकमात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्