पोखराका श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

पोखराका श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

विराटनगर । आरोहण गुरुकुल विराटनगरले वरिष्ठ कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
काव्यारोहणअन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा पोखरामा बसेर विगत साढे चार दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना करिब दुई दर्जन कविता वाचन गरे । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’, ‘धर्मग्रन्थ’, ‘मलाई इलाम हुन मन लाग्यो’, ‘लाहुरेको चिठ्ठी’, ‘आमा’, ‘ओ काठमाडौं,’ ‘सर्प र राजधानी’, ‘तान्सेन’, ‘पागलहरु छन् चुपचाप’, ‘चराहरु’, ‘वृद्धाश्रमबाट आमाको चिठ्ठी’, ‘असमर्थ राजधानीसँग’, ‘लयमा’ शीर्षकका कविता सुनाए ।

उनले कवितामार्फत माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीदेखि आफूलाई छाडेर जाने प्रेमिकासम्मलाई सम्झन भ्याए । हरेक कविताको पृष्ठभूमि र रचनागर्भ सुनाउँदै कविता वाचन गरेर श्रेष्ठले दर्शकको पूरै ध्यान आफूतिर आकर्षित गराउन सफल भए । वि. सं. २०१६ कात्तिक १६ गते पोखरामा जन्मिएका श्रेष्ठका ‘जिन्दगीको गुरुक्षेत्रबाट,’ ‘पाइलाका नीवहरूले’ र ‘धर्सैधर्साको चक्रव्यूह’, ‘महाभारतका गीतहरू’, ‘जिन्दगीको गोधूलीमा’, ‘मेरै हिमालजस्तो’लगायतका कृतिहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा वर्ष पुरस्कार, शिरोमणि पुुस्कार, वासुशशी स्मृति पुरस्कारलगायत दुई दर्जनभन्दा बढी विभिन्न पुरस्कार र सम्मानबाट विभूषित श्रेष्ठले पटक–पटक आफ्नो विगतलाई स्मरण गरे । दर्शकबाट पटक–पटक ‘वान्समोर’ भनेपछि उनले ‘हिउँमा लेखिएका नामहरू’ वाचन गरे ।

२०७६ मंसिर ७ गतेदेखि सुरु भएको काव्यारोहण शृंखलामा यसअघि बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला र मनप्रसाद सुब्बाले कविता वाचन गरिसकेका छन् । कोभिडका कारण पाँचौं शृंखलापछि काव्यारोहणलाई निरन्तरता दिन नसकिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए । कोभिडको संक्रमण कम भएकाले छैटौं शृंखला आयोजना गरिएको उहाँको भनाइ छ । सशुल्क आयोजना हुने कार्यक्रममा पूर्वका मोरङसहित, धनकुटा, सुनसरी, झापा, इलामलगायतबाट कवि साहित्यकारहरु सहभागी हुने गरेका छन् । कोभिड संक्रमण घट्दै गए अन्य शृंखलालाई निरन्तरता दिँदै जाने अर्का कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए । कविता वाचनपछि वरिष्ठ कवि श्रेष्ठलाई आरोहणका तर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्