सुनसरीको बर्जु महोत्सवमा स्थानीयद्वारा आगजनी र तोडफोड

सुनसरीको बर्जु महोत्सवमा स्थानीयद्वारा आगजनी र तोडफोड

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जु महोत्सवमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् । कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछी स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन् । स्थानीयको तोडफोडबाट ठुलो जनधनको क्षति भएको बताईएको छ ।

यद्यपि, घटनाबारे यकीन विवरण भने हालसम्म प्राप्त भएको छैन् । घटनास्थलमा हाल अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी सुनसरीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्