मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य

मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य

झापा । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उहाँले बताउनुभयो । जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिनुभएको हो ।

“निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “चाहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन । सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस् ।”

उहाँले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत र कर्मचारीको विवरण दुरुस्त अवस्थामा राख्न जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिनुभयो । चुनावको तयारीका क्रममा कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदानस्थलसम्म पु¥याउन धेरै सवारीसाधन आवश्यक पर्ने उहाँले बताउनुभयो । हाल जिल्लास्थित विषयगत सरकारी कार्यालय र १५ वटा स्थानीय पालिकासँग सयौँको सङ्ख्यामा सवारीसाधन छन् । अस्वथ, पाका उमेर र चुनावअघि अवकाश पाउने कर्मचारीलाई चुनावमा नखटाउन उहाँले कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । उहाँले हरेक पालिकामा आवश्यकता हेरी दुई वा तीनवटा स्थलमा मतगणना गरिने र ती स्थानको छनोट गर्न पालिकाहरूलाई आग्रह गरेका छन् ।

“सबै मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्ने व्यवस्था गर्नुहोला”, उहाँले भन्नुभयो, “त्यसो भयो भने निर्वाचनको मतगणना पारदर्शी हुन्छ, हुलहुज्जत हुने सम्भावना रहँदैन ।” जिल्लामा मतदाताको सङ्ख्या छ लाख ५० हजार २ सय ५८ छ भने २ सय ८६ मतदानस्थल र ७ सय ६० मतदान केन्द्र छन् । जिल्लामा १५ पालिका र १ सय ३१ वडा छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्