विराटनगर । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई शिक्षक मनोजप्रसद पौडेलले बलात्कार प्रयास गरेको आरोपमा भड्किएको भीडले आक्रमण गर्दा एकजना प्रहरीको मृत्यु तथा १८ जना प्रहरी घाइते भएका छन् ।
शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गर्दा १९ जना प्रहरी घाइते भएका ह्न् । जसमध्ये एकजना प्रहरी जवानको मृत्यु भईसकेको छ । पीडित बालिकाका आफन्त र गाउँले आइतबार दिउँसो विद्यालय घेराउ गरेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गर्दा स्थिति असामान्य बनेको थियो ।
प्रदेश १ प्रहरी प्रवक्ता नवीनराज राईका अनुसार घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा ल्याइएको थियो ।
मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित १८ जना घाइते भएका छन् । प्रहरी उपरीक्षक जिसीको छातीमा इटाले लागेको छ भने हातमा समेत सामान्य चोट लागेको छ ।
घाइते हुनेहरुमा लेटाङमा कार्यरत प्रहरी हवल्दार सन्तबहादुर मगर, मिक्वा योङहाङ, शिवकुमार यादव, रेणुका सोनाम, बेलबारीमा कार्यरत प्रहरी हवल्दार फुर्वा शेर्पा, प्रहरी जवान जानुका कटवाल, प्रहरी मो.लालमिया, सन्ध्या भुजेल, विमला धिमाल, दिपककुमार यादव, जिल्ला प्रहरी कार्यालयल एसपी जिसीसहित उनका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई, गणबाट खटिएका प्रहरी हवल्दार कृष्णकुमार यादव, उमेश बराही, संगिता प्रसाँई, सन्जय यादव, प्रहरी जवान दिपेश राय, मनिता राई, प्रहरी नायव निरीक्षक ध्रुवबादुर कार्की छन् ।
घाइतेमध्ये ५ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले पनि कोशी अस्पतालमा उपचार भईरहेको छ । बाँकी भने उपचारपछि फर्केका छन् ।
कक्षा ७ मा पढ्ने १३ वर्षीया छात्रालाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई विद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याउने प्रयास गर्दा स्थानीयले आक्रमणमा उत्रेका थिए । स्थानीयले लखेटी लखेटी प्रहरीमाथि ढुङ्गा मुढा र घरेलु हतियार प्रयोग गरेका थिए ।
घटनामा केहि राजनीतिक इगो समेत जोडिएको छ । वडा अध्यक्ष र हेडसरले घटनापछिको स्थिति स्थानीयलाई बुझाउन नसक्दा भीड अनियन्त्रित भएको आरोप छ ।