लेटाङमा एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान कसरी गयो ? : डिटेल स्टोरी

लेटाङमा एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान कसरी गयो ? : डिटेल स्टोरी

विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना सम्बन्धी सुक्ष्म अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आवर विराटनगरलाई बताए । उनले शंकास्पद देखिएका ६ जनालाई मात्र नियन्त्रणमा लिईएको जानकारी दिए ।

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गयराती स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको थियो । विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयप्रति आक्रोशित स्थानीयले आक्रमण गर्न खोज्दा अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीको अन्धाधुन्द आक्रमणका कारण गयराती प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान समेत गएको थियो ।

स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अवस्था पुनः पनि असामान्य बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लेटाङमा चार किल्ला सीमानाभित्र सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाईएको छ ।

घटनापछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

के हो लेटाङको वास्तविक घटना ?

गएको चैत्र ४ गते शुक्रबार फागुपुर्णिमाका दिन मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेल सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत एक छात्राको घर पुगेका थिए । उनी सामाजिक शिक्षा पढाउने शिक्षक हुन् । घरमा पुग्ने बित्तिकै वर्ष ५६ का ती शिक्षकले वर्ष १२ की ती छात्रालाई पानी मागेका थिए । पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफुमाथि दुव्र्यवहार गरेको छात्राले बताएकी छन् । उनीले भनेकी छन्,‘होलीको दिन भएकाले बिहानैदेखि पाहुनाहरु आउजाउँ भईरहेको थियो । सोही क्रममा घरमा कोही नभएको बेला मलाई पढाउने सर पनि आउनुभयो । पानी माग्नुभयो । पहिलेपनि घर आईरहनु हुन्थ्यो । तर, त्यो दिन पानी ल्याएर दिने क्रममा उहाँले संवेदनशील अङ्गमा हात लगाउने प्रयास गर्नुभयो ।’

गएको तिहारयता शिक्षक पौडेल पटकपटक छात्राको घर जाने आउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको मोरङ प्रहरीका एसपी जर्नादन जिसीले बताए । उनले भने, ‘छात्राको भनाई अनुसार ती शिक्षकले यसअघि पनि उनीसँग दुव्र्यवहार गरेका रहेछन् । पटकपटक घर आउने, पानी माग्ने र दुव्र्यवहार गर्ने कार्य यसअघि भएको छात्राले बताएकी छन् ।’

आईतबार १२ वर्षीया ती छात्राले आफ्नै शिक्षकबाट दुव्र्यवहार सहन गर्नुपरेको बताएपछि वडाध्यक्ष लगायतको समुहले प्रहरी बोलाएका थिए । तर, स्थानीय बासिन्दा र विद्यार्थीहरुले शिक्षकलाई बचाउन खोजिएको बुझेपछि झडपको अवस्था सिर्जना भएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताए । शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दाले दुव्र्यवहार गर्ने ती शिक्षकलाई आफुहरुको जिम्मा लगाउनुपर्ने माग गरेका थिए । तर, प्रहरी त्यसमा सहमत हुन नसकेपछि झडप भएको नगरप्रमुख राईले जानकारी दिए । उनले भने, ‘हामीले शिक्षकलाई प्रहरीको जिम्मा लगाउन आँटेका थियौं । तर, विद्यालयका अन्य विद्यार्थी र स्थानीय बासिन्दाले शिक्षक हाम्रो जिम्मा दिनुस, हामी कालोमोसो दलेर लेटाङ बजार घुमाउँछौं भन्न थालेपछि त्यसमा प्रहरीको विमति पश्चात घटना भएको हो ।’

विद्यार्थी र स्थानीय बासिन्दाले शिक्षकलाई बचाउने प्रयास भएको बुझेपछि आक्रोशित उनीहरुले दिउँसो ती शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामा थुनेर प्रदर्शन गर्नुका साथै आगजनी समेत गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले आरोपित शिक्षकको मोटरसाईकल जलाइदिएका थिए । आगजनी पश्चात अवस्था असामान्य बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ सेल अश्रुग्यास र हवाई फायर समेत गरेको थियो । तर पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीको बल प्रयोग पश्चात प्रर्दशनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा परी मोरङ प्रहरीका एसपी जर्नादन जिसीसहित २८ जना प्रहरी र ७ जना प्रर्दशनकारी घाईते हुनुका साथै १ प्रहरी जवानको ज्यान समेत गएको थियो । आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको जनाईएको छ ।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए । उनले भने, ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि उहाँको अवस्था गम्भीर बनेको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँले ज्यान गुमाउनुभएको हो ।’

झडपमा को–को घाईते भए ? (नामावली सहित)

मोरङको लेटाङमा आईतबार भएको घटना परी मोरङ प्रहरीका प्रहरी उपरीक्षक जर्नादन जिसी सहित २८ जना प्रहरी र ७ जना स्थानीय घाईते भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घटनामा परि एसपी जिसीको खुट्टामा चोट लागेको र उनका बडीगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।

१ नं. प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार ३८ वर्षीय कृष्ण कुमार यादव, ३६ वर्षीय उमेश वरही, ३६ वर्षीय संगीता प्रसाई र ३९ वर्षीय सञ्जय यादव पनि घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए । घटनामा परी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार ३९ वर्षीय खुबी सावा, प्रहरी जवान २१ वर्षीय जाबुक खड्का, २५ वर्षीय लाल मिश्रा, २६ वर्षीय सञ्जय भुजेल, २४ वर्षीय बिमल धिमाल र २१ वर्षीय दिपक कुमार यादव पनि घाईते भएको उनले जानकारी दिए ।

यसैगरि झडपमा इलाका प्रहरी कार्यालय लेटाङका ३८ वर्षीय सन्त बहादुर मगर, ३५ वर्षीय मिक्वा योङहाङ, ४१ वर्षीय शिव कुमार यादव र ३८ वर्षीय रेनुका सोनाम पनि घाईते भएका छन् । यसबाहेक ३६ वर्षीय दिपेश राय, ३१ वर्षीय मनिता राई र ४० वर्षीय धुव्रबहादुर कार्की समेत घाईते भएको जनाईएको छ । उनीहरुको विराटनगरस्थित कोशी अस्पताल र नोबेल शिक्षण अस्पताल उपचार जारी रहेको र अन्य ६ जना उपचारपछि फर्किएको प्रहरी श्रोत मार्फतको जानकारी छ । प्राप्त जानकारी अनुसार घटनामा घाईते भएका स्थानीय लेटाङ–८ का मिलन खड्का र लेटाङ–५ का ३३ वर्षीय आयुष लिम्बू सहित ७ जनाको नोबेल र कोशीमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्