विराटनगर । लेटाङमा जिल्ला प्रशसान कार्यालय मोरङले जारी गरेको आदेश उल्लङ्घन गर्ने १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका विभिन्न स्थानहरुमा सोमबारदेखी नै कर्फ्यु जारी गरेको थियो । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई यौनजन्य दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै भएको विरोध हिंसामा परिणत भएको थियो । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सोही स्कुलका शिक्षक मनोज पौडेललाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आईतबार साँझ आक्रमण गरेका थिए ।
जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २८ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए । लेटाङ घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । उनका अनुसार सोमबार र मंगलबार गरी ९ जना पक्राउ गरि अनुसन्धान थालिएको छ ।
उक्त घटनाबारे प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले घटनाको स्थलगत जानकारी लिएको छ । लेटाङमा जारी गरिएको आदेश आज साँझ छलफल गरी कफ्र्यु लगाउने वा नलगाउने बारे निर्णय हुने जिल्ला प्रशासन कार्यालय मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी सरदराज पोखरेलले जानकारी दिनुभयो ।