विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ ।
प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छनौट समिति गठन भएको छ । समितिले जिल्लामा आफूलाई चाहिएको म्यादी प्रहरीको छनौट गर्ने छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार ताप्लेजुङमा ६ सय ४७, पाँचथरमा ९ सय १६, इलाममा १ हजार १ सय १८, झापामा २ हजार ७ सय ६४, मोरङमा ३ हजार ७ सय २७, सुनसरीमा २ हजार १ सय ४३, धनकुटामा ८ सय ६१ र तेह्रथुममा ३ सय ९९ म्यादी प्रहरी भर्ना गरिनेछ । यस्तै, भोजपुरमा ७ सय ४९, संखुवासभामा ९ सय ४४, खोटाङमा १ हजार १ सय ४७, ओखलढुंगामा ५ सय ७९, सोलुखुम्बुमा ७ सय ९९, र उदयपुरमा ९ सय ५८ जना म्यादी प्रहरी भर्ना हुनेछन् । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिन सम्मको हुनेछ । म्यादी प्रहरीको लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत मासिक तलब रु.२२,६८० ) बढीमा ४० दिन सम्मको लागि व्यक्तिगत बैक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब रु.३०,२४० खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रु.७,२०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति रु.६००० का दरले उपलब्ध गरिने छ। निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एक पटकको लागि रु.१००० का दरले तयारी खर्च उपलब्ध गराईने छ । म्यादी प्रहरीको बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेको बमोजिम हुने छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ । चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गरेको हो ।