विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयर बन्ने दौडमा १७ जना महिला आकांक्षी देखिएका छन् ।
आन्तरिक पार्टी पंक्तिभित्र मेयरको उमेदवारमा पुरुषको दबदबा बारे बहस भईरहेको बेला उपमेयरमा महिलाको चर्चा सुस्त गुन्जिएपनि दौडमा रहने संख्या कम छैन । दलगत रुपमा आन्तरिक पार्टीपक्ति भित्रैको प्रतिस्प्रर्धामा सबै हिसाबले मजबुत मानिएपछि मात्रै महानगरपालिकाको उपमेयरको दावेदारको रुपमा निर्वाचनमा होमिने मौका पाइन्छ । विराटनगर महानगरपालिकाको उपमेयरमा आकांक्षा राख्नेमा छ जना रहेका छन् । नेपाली काँग्रेस नगरसभापति दिपक चापागाँईका अनुसार हालसम्म सुची चौधरी, प्रदेशसभा सदस्य बिन्दिया कार्की, प्रमिला गच्छदार, प्रमिला थापा, जस्मिन मण्डल, पुनम सिंह उपमेयरको दौडमा रहेका छन् ।
नेपाली काँग्रेसले यदि महिलालाई मेयरको रुपमा अगाडी सारेमा उपमेयर हुने पुरुषको चर्चा भने नगन्य मात्रै रहेको छ । यस पटक नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला र अहिलेकी उपमेयर इन्दिरा कार्की विराटनगरको मेयरका संभावित उमेदवारको रुपमा चर्चा छ । नगरसभापति चापागाँईले यदि महिला मेयरको उमदेवार बनेको अवस्थामा उपमेयरको रुपमा निरोज कोइराला र राजु मास्केले ईच्छा व्यक्त गरेको जानकारी दिनुभयो । त्यस बाहेक उपमेयरमा उठ्ने अवसर चाहियो भन्ने पुरुषको आवाज कम सुनिने गरिएको दावी छ ।
विराटनगर महानगरमा उपमेयरको आकांक्षीसहित टिकट लिने दौडमा एमालेबाट चारजना महिला छन् । शिल्ला निराला कार्की, बिमला दाहाल घिमिरे, अन्जु उपाध्याय र झुमा पोखरेल अहिले उपमेयर आकांक्षीको रुपमा देखिनु भएको हो । नेकपा एमाले महानगर कमिटिका अध्यक्ष सागर थापाले महिला नेतृहरुले ईच्छा राखेर पार्टीको निणर्य पर्खिरहेको जानकारी दिनुभयो ।
यस्तै विराटनगरमा अर्को सशक्त उपस्थिति देखाउन सक्ने जनता समाजवादी पार्टीका लागि चारजना महिलाले उपमेयरको आकांक्षा राखेका छन् । जसमा सदिना खातुन, बिमला अर्याल, गुडिया साह र बसुन्धरा झाको नाम चर्चामा रहेको छ । यी चारैजना महिला पार्टीभित्रका उतिकै संभावित उमेदवारको रुपमा रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट उपमेयरको रुपमा दुईजनाले आकांक्षा देखाउनु भएको छ । सबै पार्टीका उपमेयरका उमेदवारमध्ये पनि शसक्त मानिएकी नमिता न्यौपाने नै पहिलो प्राथमिकतामा छिन् । त्यसपछि सारदा मैनालीले उपमेयरको उमेद्वार बन्ने घोषणा गर्नु भएको छ । महानगरपालिका पार्टीका अध्यक्ष नबिन पौडेलले हालसम्म दुईजनाको नाम चर्चामा आएको बताउनुभयो । यसैगरी एकिकृत समाजवादीबाट यदि उपमेयर पाउनसक्ने संभावना भए मिरा दाहाल पोखरेललाई अगाडी सार्नसक्ने आंकलन गरिएको छ ।