विराटनगर । सरकारमा आवद्ध सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल गरिरहँदा विराटनगरमा भने प्रमुख दुईवटा पार्टीले यसको विपक्षमा उभिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले तालमेल गरेर अगाडी बढ्ने निणर्य नै गरिसकेको अवस्थामा विराटनगरमा त्यस्तो गर्न नसकिने बताइएको हो ।
विराटनगर महानगरपालिकामा मेयरको उम्ेदवारको आकांक्षा समेत राख्नु भएको नेपाली काँग्रेस महानगर सभापति दिपक चापागाँईले तालमेल कदापी स्वीकार नहुने बताउनुभयो । उहाँले आन्तरिक पार्टीपंक्तिमा मेयरको टिकट लिने विषयमा आ-आफ्ना धारणा भएपनि टिकट लिएपछि सिंगल जित्ने दावी गर्नुभयो ।
गठबन्धन दलको निर्वाचन तालमेल हामीलाई स्वीकार्य छैन, सभापति चापागाँईले भन्नुभयो-हामी एक्लै काफी छौं । उहाँले आगामी निर्वाचनपछि निर्वाचित मेयर सडकमा घस्रेर रमिता देखाउने मात्रै नभई विकासका लागि केहि गर्नसक्ने क्षमताको हुनुपर्ने बताउनुभयो ।
यसैगरी जनता समाजवादीका नेता उमेश यादवले समेत निर्वाचन तालमेल बारे आफ्नो सहमति नभएको बताउनुभयो । उहाँले विराटनगरमा जनता समाजवादी पार्टी विजयी उन्मुख रहेको बताउँदै कुनै राजनीतिक पार्टीको मुख हेरेर तालमेलको रटान लगाउन नसकिने बताउनुभयो । मेयर उमेदवारको प्रवल दावेदार यादवले विराटनगरमा जसपाले एक्लै भिड्ने आँट गर्ने बताउनुभयो । यादवले अघिल्लो पटक समेत तालमेलका कारण हार बेहोर्नु परेको जसपाले आगामी निर्वाचन एक्लै पार लगाउने दावी गर्नुभयो ।