योजना आयोग उपाध्यक्षमा डा.लोक्सोम, सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

योजना आयोग उपाध्यक्षमा डा.लोक्सोम, सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

विराटनगर । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । पाँचथरका डा.लोक्सोम शेरधन राई नेतृत्वको सरकारले योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको वर्तमान पाँच दलीय गठबन्धनले उपाध्यक्षमा नियुक्त गरेको छ ।

प्रदेश १ सरकारका प्रवक्ता तथा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । कार्की संखुवासभा, कोइराला सुनसरी, राई भोजपुर र खड्का मोरङका हुनुहुन्छ । बैठकले प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई पनि बर्खास्त गरेको छ । मन्त्री घिमिरेले सदस्यसचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारीबाट हटाएको जानकारी दिनुभयो ।

एमाले नेता भीम आचार्यले आफ्नो दुई महिने कार्यकालमा खेलकुद बोर्डको पदाधिकारी नियुक्त गर्नु भएको थियो । बोर्डको पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ । तर गत असोज तेस्रो साता नियुक्त भएका बस्नेतालाई पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दै बर्खास्त गरिएको हो । गत माघमा सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई स्पष्टीकरण सोध्नु भएको थियो । बैठकले प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्