विराटनगर । नेपाली काँग्रेस मोरङमा चुनावी गठबन्धनका विषयमा गठबन्धन नगर्ने दवाव बढ्दै गएको छ । जिल्लाका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका हुन् ।
मोरङमा काँग्रेस एक्लै बलियो रहेको निष्कर्षसहित सत्ताधारी दलहरुसँग गठबन्धन बनाएर निर्वाचनमा जाने कुरालाई अस्वीकार गरिएको हो । ०७४ सालको स्थानीय निर्वाचनमा मोरङमा मात्रै १० वटा पालिका जितेको थियो । मोरङका कतियपय पालिकामा जीतेका प्रमुखहरुले भने गठबन्धन गर्नुपर्ने मत समेत राख्दै आएका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै जिल्ला जिल्लामा छलफल सुरु भएको थियो । तर, काँग्रेसका स्थानीय समितिहरुले यस्तो विषयमा चासो राखेका छैनन् ।
काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार तल्लो कमिटीबाट केही वडामा बाहेक तालमेल र सहकार्यको कुरा नआएको बताउनुभयो ।
पहाडी क्षेत्रका स्थानीय तहमा भने गठबन्धन गरेर जानुपर्ने सुझाव दिइएको छ । बजार क्षेत्रमा गठबन्धन गर्ने कुरालाई अस्वीकार गरिएको हो ।
कांग्रेसले जिल्ला समितिको बैठक राखेको छ । उक्त बैठकले शुक्रबार बेलुकासम्ममा तलबाट आएका सुझावहरूको आधारमा आफ्ना धारणा सार्वजनिक गर्नेछ ।
०७४ सालमा मोरङमा नेपाली कांग्रेसले १०, एमालेले ५, माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ पालिकामा जितेका थिए । आगामि निर्वाचनमा कांग्रेसले गठबन्धन नगरेको खण्डमा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच गठबन्धन गरेर जाने विषयमा चर्चा सुरु भएको छ ।