विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूणर् लोक्सोमसहित सदस्यहरूलाई सपथ गराउनुभएको हो । शुक्रबार उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
सो अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्ति पत्र पनि प्रदान गर्नुभएको छ । चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार उहाँहरू प्रदेश योजना आयोगमा नियुक्त हुनुभएको हो । सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, कर्मचारी, पत्रकारसहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्तहरूको उपस्थिति रहेको थियो ।
यसैबीच, सपथग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई बधाई दिनुभयो ।
उहाँले संसद र सरकारको समयावधि अब छोटो भएकाले कति पनि समय खेर नफाली आफ्नो सम्पूणर् क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद, झण्डै सोही प्रकारको सरकारका सामु थुप्रै चुनौती रहेको स्मरण गर्दै यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।