बाँके । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।
मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।
किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिक रूपमा तरकारी खेती पनि गर्ने गरिएको छ । तीन वर्षअघि अमेरिकाबाट अफ्रिका–भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो । फौजी किरा अहिले यतै बसेको छ ।
फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ । यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर हुँदैन ।