विराटनगर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७८ साल देशलाई अफ्ठ्यारोमा पार्ने षड्यन्त्रकारीहरुको वर्षको भएको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटिले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देश ठगहरुको चङ्गुलमा फसेको वर्षको रुपमा २०७८ रहेको बताउनु भएको हो ।
नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले देशको आर्थिक अवस्था अस्तव्यस्त बनाउन गठबन्धन सरकार लागि परेको आरोप समेत लगाउनुभयो । उहाँले यी सबै समस्याहरुलाई चिर्नका लागि एमालेमा आवद्ध हुन आग्रह गर्दै आगामी २०७९ साल एमाले वर्ष हुने दावी गर्नुभयो ।
षड्यन्त्रकारीहरुले एमालेलाई छिन्नभिन्न बनाउन षड्यन्त्र गरेपनि नागरिकले बलियो बनाउन सहयोग गरेको भन्दै अध्यक्ष ओलीले देशलाई समृद्धमा लैजान पार्टीमा आवद्ध हुनुका लागि आग्रह गर्नु भएको छ । स्थानीय तहको निर्वाचन अझैपनि षड्यन्त्रपूर्वक नगराउने योजना रहेको बताउँदै त्यसलाई एमालेले अस्वीकार गर्ने बताउनुभयो । निर्वाचन सार्ने षड्यन्त्रलाई अदालत र निर्वाचन आयोगले पनि अस्वीकार गर्नुपर्दछ, अध्यक्ष ओलीले भन्नुभयो–नागरिकले दवाव बढाउनु पर्दछ ।
उहाँले अहिले देशको अर्थतन्त्र टाट पल्टाउने योजनामा गठबन्धनमा आवद्ध दलहरु लागि परेको आरोप लगाउनुभयो । नयाँ निर्माणका योजना छैनन्, पुराना योजना सम्पन्न हुनसक्ने अवस्थामा छैनन्, अध्यक्ष ओलीले भन्नुभयो–देशलाई अस्थिरताउन्मुख गराएर श्रीलंका बनाउन खोजिदैछ । एमालेले देशमा थालेको लोककल्याणकारी योजनाहरु समेत संकटमा पार्न खोजिएको आरोप लगाउँदै एमाले सरकार हुँदा मात्रै विकासका कामले गति लिने दावी गर्नुभयो ।
महानगर पार्टी कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष सागर थापाले स्थानीय तहको निर्वाचनमा एमाले बाहेकको दललाई जित भए विराटनगर धेरै पछि धकेलिने दावी गर्नुभयो । यसैगरी महानगर उपाध्यक्ष शिल्पा कार्कीले अन्य पार्टीहरुबीच जस्तोसुकै गठबन्धन भएपनि एमालेको गठबन्धन जनतासँग रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले मोरङका इन्चार्ज बिनोद ढकालले विराटनगरको विकास योजनामा एमालेको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसले सार्थकता पाउन एमालेले जित्नुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओलीसहितका नेताहरुले स्वागत गर्नु भएको थियो ।