पीएलओले आईपीओ निष्काशन गर्ने

पीएलओले आईपीओ निष्काशन गर्ने

विराटनगर । लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपालको ठूलो र पुरानो कम्पनी पीएलओले आफ्नो बजार अन्तराष्ट्रियस्तरमा विस्तार गर्ने योजनासहित आईपीओ जारी गर्ने तयारी गरेको हो ।

पीएलओ ग्रुपका कार्यकारी निर्देशक आकाश दुलालले आगामी साउनमा पब्लिक लिमिटेड कम्पनीमा गएर त्यसको छदेखि दश महिना भित्रमा आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । कम्पनीले सम्पति, लगानीको आधारमा अहिले विज्ञहरुसँग परामर्श गरिरहेको छ । अहिलेको अवस्थामा प्रिमियम मूल्य ९०० नजिक छ, कार्यकारी निर्देशक दुलालले भन्नुभयो–कुल १५ करोड रुपिँया चुक्ता पूँजी रहेको कम्पनीले तीनलाख कित्ता शेयर बिक्री गरेर २१ करोड संचित कोष जम्मा गर्ने लक्ष्य राखेको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचौकमा केन्द्रीय कार्यालय रहेको पीएलओ ग्रुप नेपालको लुब्रिकेन्ट बजारमा २३ वर्षअघि स्थापना भएर कारोबार गर्दै आएको छ । नेपालमा कुल खपतको २२ प्रतिशत बजार नेपाली लुब्रिकेन्टले ओगट्दै आएको छ । नेपालमा १५ अर्ब रुपिँया बराबरको कारोबार लुब्रिकेन्टले गर्ने दावी छ । नेपालमा आठ वटा लुब्रिकेन्ट कम्पनी रहेको र ती कम्पनीले साढे तीनसय करोड कारोबार गर्दै आएको निर्देशक दुलालले जानकारी दिनुभयो ।

सार्वजानिक खरिदमा स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्ने सरकारी निर्देशिका कार्यन्वयनमा आउन थालेसँगै नेपाली उद्योगीले केहि राहत पाएको उद्योगीहरु बताउँछन् । पछिल्लो समय नेपाली सेना, प्रहरीसहित सरकारी निकायबाट हुने टेण्डरमा नेपाली लुब्रिकेन्ट प्रयोग बढ्दै गएको छ । तर, नेपाली बजारमा अझै ७८ प्रतिशत बजार आयातित लुब्रिकेन्टले ओगट्दै आएको छ । नेपालमा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको लुब्रिकेन्ट आयत हुने भएपनि नेपाली उत्पादन त्यो भन्दा बढी गुणस्तरको रहेको उद्योगीको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्