एमालेले जित्ने उमेद्वार उठाउँछ : नेता कार्की

एमालेले जित्ने उमेद्वार उठाउँछ : नेता कार्की

विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैशाख ९ गतेसम्म सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतले सिफारिस गरिसक्ने बताउनु भएको छ । विराटनगरमा शुक्रबार पत्रकारसँग भेटघाट आयोजना गरेर नेता कार्कीले एमालेले उमेद्वारमध्येका श्रेष्ठलाई टिकट दिने बताउनु भएको हो ।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये बहुपालिकामा एमाले निकट उमेदवारले विजयी हाँसिल गर्ने दावी गर्दै नेता कार्कीले वडातर्फ ४० प्रतिशत सर्वसम्मत नाम सिफारिस भईसकेको जानकारी दिनुभयो । पालिका प्रमुख र उपप्रमुखको अन्तिम नाम बैशाख ९ गतेसम्म सर्वसम्मत सिफारिस हुने दावी नेता कार्कीको छ ।

स्थानीय तहको निर्वाचन कुनै बहानामा सार्न नहुने बताउँदै नेता कार्कीले एमालेको सुर्य चिन्हबाट निर्वाचनमा उठ्न चाहने दलहरुलाई साथमा लिएर जाने बताउनु भएको छ । प्रचण्ड, माधव नेपाल र केपी ओलीबीचको चिसोपना रहेका कारण अहिले नै एमालेले माओवादी र समाजवादीसँग कुनै तालमेल गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । तर, स्थानीय तह विशेषमा निर्वाचनको तालमेलको संभावना भने रहेको नेता कार्कीको धारणा थियो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले प्रादेशिक संरचनाप्रति झन् बितृष्णा बढाएको आरोप नेता कार्कीको थियो । पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका नेता कार्कीले प्रदेशको नामाकरणमा अहिलेको सरकार गम्भीर नरहेको आरोप लगाउनुभयो । सरकारले ठोस नाम प्रस्ताव गर्न सकेको छैन, यदि सरकार तयार भए आगामी मंसिरसम्ममा प्रदेशको नामाकरण हुने विश्वास नेता कार्कीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्