स्थानीय तहको निर्वाचन: खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति

स्थानीय तहको निर्वाचन: खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति

खोटाङ । सरकारले यही वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र ६ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दल माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एकार्कालाई सहयोग गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उमेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति भएको जसपा खोटाङका अध्यक्ष टंक थापाले जानकारी दिए ।

साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकार्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी ६ पालिकामा भने कांग्रेससहित चारदलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिइन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए । यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उमेदवार पाउनेछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उमेदवार दिने गठबन्धन दलले सहमति गरेका छन् । पालिकामा तालमेल र भागबन्डाको विषय टुंगिएलगत्तै कहाँ कसलाई उमेदवार बनाउने भन्ने छलफलकेन्द्रित भएको जनाइएको छ ।

१० स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबन्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिभित्र टुंगो लगाइसक्ने गरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए । वि.सं. २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा विजयी भएको एमाले अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको छ । पालिका तथा वडामा उमेदवारको टुंगो लगाउन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको एमालेका जिल्ला सचिव कुमार आचार्यले जानकारी दिएका छन् ।

एमालेका अनुसार वडास्तरीय उम्मेदवारको टुंगो लागिसकेको छ । पालिकास्तरमा गठबन्धनको उमेदवार हेरेर चयन गरिने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्