विराटनगर । मोरङका सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । कार्यालय स्थापनाको सबै तयारी पूरा भएको हो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ्चालनमा ल्याइने भएको हो ।
मोरङमा विराटनगर महानगरपालिकासहित १७ वटा पालिकाहरु छन् । कार्यालय स्थापनाको समय दिउँसो १ बजेलाई तोकिएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख एवम् उपसचिव लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । विराटनगरस्थित रेडक्रस भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अरु निर्वाचन अधिकृतको कार्यालयसँग पनि समन्वय हुनेछ ।
बाँकी १६ वटा निर्वाचन अधिकृतको कार्यालय भने सम्बन्धित स्थानीय तहमै रहने छन् । मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गर्नेछ । निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक पर्ने भवन, सिसी क्यामेरा जडान, सवारीसाधन, फर्निचर, सञ्चार लगायतका सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई स्थानीय प्रशासनले निर्देशन दिइसकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर गरेर एक–एक जना कर्मचारी नियुक्त गरिने छ । त्यस्तै सवारी चालक र अङ्ग रक्षक एक–एक तथा कार्यालय सहयोगी दुई जना हुने छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर, सवारी चालक र अङ्ग रक्षक गरेर एक–एक तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी नियुक्त गर्दा स्थानीय तहमा कार्यरतलाई प्राथमिकता दिइने छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उम्मेदवार तथा सरोकारवालाहरुसँग समन्वय एवम् अन्तरक्रिया गर्ने, सुरक्षालाई लिएर प्रजिअसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी मुख्य तथा निर्वाचन अधिकृतको हुनेछ । त्यस्तै मतदाता नामावली प्रकासन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै कामको जिम्मेवारी छ ।
मोरङसहित प्रदेश १ का १४ वटै जिल्लाका पालिकाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजै स्थापना गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । प्रदेश १ मा एक सय ३७ वटा पालिकाहरु छन् ।