हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता

हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता

मनाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकांश नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र घलेले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट उपाध्यक्षमा भने उम्मेदवारी दर्ता भएको छैन ।

एमालेको तर्फबाट चामे गाउँपालिका–३ को वडाध्यक्षसहित सदस्यहरूको समेत उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय चामेले जनाएको छ । कार्यालयका अनुसार १, २, ४ र ५ नम्बर वडाका भने बाँकी रहेको एमाले जिल्ला कमिटी मनाङले जनाएको छ ।

नासों गाउँपालिकाका गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भएको छ । नासोंमा गठबन्धनबाट विभिन्न २८ पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाली कांग्रेसबाट मनबहादुर गुरुङले नासों गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने गठबन्धनमार्फत नेकपा (माओवादी केन्द्र)बाट अर्विन गुरुङले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
नासों गाउँपालिकाको नौ वडामध्ये ६ वडामा उम्मेदवारी दर्ता भएको छ भने अन्य वडामा बाँकी रहेको निर्वाचन अधिकृत तारादत्त बडुले जानकारी दिए । वडा नं २ र ४ मा विभिन्न पदमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी परेको छ भने अन्यमा उम्मेदवारी हुन बाँकी रहेको छ । नासोंको पाँच वडामा नेपाली काँग्रेसको भागमा परेको जनाइएको छ ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाका ९ नम्बर वडा बाहेक सबैमा एमाले र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केदारनाथ उपाध्यायले जानकारी दिए । मनाङ ङिस्याङको अध्यक्ष पदमा एमालेबाट कान्छा घले, उपाध्यक्ष पदमा स्वतन्त्रबाट छिरिङ गुरुङले उम्मेदवारी दर्ता भएको उपाध्यायले बताए ।

एमालेबाट ङिस्याङ–१ को वडाध्यक्षमा मिङ्मार गुरुङ, खुल्ला सदस्यहरूमा कर्म छिरिङ गुरुङ र नर्बु छिरिङ गुरुङ र महिला सदस्यमा सुमी छिरिङ लमु गुरुङको उम्मेदवारी परेको छ । एमालेबाट ङिस्याङ–२को वडा अध्यक्षमा कर्म गुरुङ र महिला सदस्यमा टसी अन्जीन घलेको उम्मेदवारी परेको छ । एमालेबाट ङिस्याङ–३ को वडाध्यक्षमा कृष्ण लामा, खुला सदस्यहरूमा सोनाम घले र रविन गुरुङ, महिला सदस्यमा लाक्पा पल्मु लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट ङिस्याङ–४ को वडाध्यक्षमा कमल गुरुङ, खुल्ला सदस्यहरूमा कर्मा छोम्पेल गुरुङ र सुदीप छोम्पेल गुरुङ, महिला सदस्यमा छिउदा गुरुङ र दलित महिला सदस्यमा पूर्णकुमारी विश्वकर्माको उम्मेदवारी परेको छ ।

एमालेबाट ६ नम्बर वडामा अध्यक्षसहित सबै पदमा मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा सोनाम गुरुङ, सदस्यहरूमा राजु गुरुङ र कर्मा वाङ्गेल, महिला सदस्यमा सानु गुरुङ र दलित महिला सदस्यमा अरुणा विकले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट ङिस्याङ–८को वडाध्यक्षमा पेम्बा गुरुङ, सदस्यहरूमा नानीराम तामाङ र दीपक गुरुङ र महिला सदस्यमा मेङ्सु गुरुङको उम्मेदवारी परेको छ । ङिस्याङ–३ मा स्वतन्त्रबाट अध्यक्षसहित सबै पदमा उम्मेदवारी मनोनयन भएको छ ।

नार्पाभूमि गाउँपालिकाको अध्यक्षका उम्मेदवार ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनुपर्ने भएकाले छलफल जारी रहेको एमाले मनाङले जनाइएको छ । एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले नार्पाभूमिमा अध्यक्ष र उपाध्यक्षसहित वडाअध्यक्षबारे आन्तरिक छलफल भइरहेको बताए । “नार्पाभूमिमा योग्य साथीहरू हुनुहुन्छ । उम्मेदवारको टुङ्गो लागिसकेको छ । तर, कसलाई कुन पदमा उठाउनेबारे छलफल भइरहेको छ”, उनले भने ।

नेपाली काँग्रेस मनाङले पनि उम्मेदवार टुङ्गो लगाएर मनोनयनको तयारीमा रहेको काँग्रेस मनाङका सचिव महेन्द्र घलेले जानकारी दिए । उनका अनुसार नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन गरी मनोनयन आजै दर्ता भएको छ । “अन्य पालिकाको उम्मेदवारको टुङ्गो लगाएका छौँ, अन्य स्थानीय तहमा भने भोलि उम्मेदवारी दर्ता गर्ने तयारीमा छौँ”, घलेले भने ।

काँग्रेसले मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा ओङ्मा घले गुरुङ र उपाध्यक्षमा छिमी दोर्जे गुरुङलाई उठाउने निर्णय गरेको उनले बताए । चामे गाउँपालिकाको अध्यक्षमा छिरिङ ध्वर्जे लामा र उपाध्यक्षमा मिङ्मा ढोमा लामालाई उम्मेदवार बनाउने भएको सचिव घलेले बताए । त्यसैगरी नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कोन्जो तेन्जिङ लामालाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काँग्रेस उम्मेदवारले सोमबार मनोनयन दर्ता गराउनेछन् ।

वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै एमाले उम्मेदवारले जितेका थिए । चामेको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका थिए । नार्पाभूमिमा काँग्रेस र स्वतन्त्र उम्मेदवार दुवैजना निर्विरोध भएका थिए ।

यस निर्वाचनमा पनि निर्विरोध हुनसक्ने आँकलन गरिएको छ । गत स्थानीय चुनावमा यहाँ एमालेले उम्मेदवारी दिएको थिएन । नासों गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण भएको पुष्पराज आचार्यले बताए । मनाङमा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्