तनहुँका १० निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल

तनहुँका १० निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल

तनहुँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका छन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा काँग्रेसबाट बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनेका छन् । विसं २०७४ को निर्वाचनमा उहाँ व्यासको प्रमुखमा निर्वाचित हुनुभएको थियो । व्यासको उपप्रमुखमा निर्वाचित मीरा जोशीले भने यसपटक टिकट पाउनुभएन । व्यासको उपप्रमुखमा काँग्रेसले इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

आँबुखैरेनीको अध्यक्षमा काँग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भने टिकट पाइनन् । आँबुखैरेनीको उपाध्यक्षमा काँग्रेसबाट पवित्रा गौलीले उम्मेदवारी दर्ता गरेकी छन् । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिएका छन् । उनीहरु दुवै जना गत निर्वाचनमा निर्वाचित भएका थिए ।

म्याग्देको अध्यक्षमा काँग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिएका छन् । उनीहरूले पनि गत निर्वाचनमा जित हासिल गरेका थिए । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिएकी छन् । एमालेबाट भिमादको प्रमुखमा निर्वाचित मेखबहादुर थापाले यसपटक टिकट पाएनन् । भिमादको प्रमुखमा एमालेले दधिराज सुवेदीलाई उम्मेदवार बनाएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिएका छन् ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्