काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी स्थित क्रिकेट मैदानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
स्थानीय पब्लिक युथ क्लव र काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दश दिने शिविर आयोजना गरिएको हो ।
क्रिकेट मैदानमा मंगलवारदेखि प्रदेश स्तरीय क्रिकेट खेल सुरु भएको छ । खेलका क्रममा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना रहेकाले खेलाडीको उपचारका लागि केएमसीका ९ जना डाक्टरहरुको टोली शिविरमा खटाइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालल बताउँछन् । उनका अनुसार खेल हेर्न आएका दर्शकहरुलाई पनि स्वास्थ्यमा समस्या देखिए निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ ।
उक्त शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात समस्या पत्ता लागेपछि औषधि समेत निःशुल्क वितरण गरिन्छ । खेल वैशाख २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । खेल अवधिभर नै केएमसीका डाक्टरहरुले खेलाडी र दर्शकको निःशुल्क उपचार गर्नेछन् ।
मंगलवार केएमसीले काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरी ७५३ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गत बर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।