मोरङमा ८२९ पदका लागि ४ हजार ५७५ जनाको उम्मेदवारी स्वीकृत

मोरङमा ८२९ पदका लागि ४ हजार ५७५ जनाको उम्मेदवारी स्वीकृत

विराटनगर । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले बिहीबार मोरङका १७ वटै स्थानीय तहका उम्मेदवारहरुको प्रारम्भिक नामावली रुजु गरी प्रकाशन गरेको छ ।

बैशाख १३ गते परेको उजुरी र दाबी-विरोध उपरको आवश्यक छानबिन पश्चात कार्यालयले आज बिहीबार उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । कार्यालयद्वारा प्रकाशित नामावली अनुसार मोरङको कुल ८२९ पदमा ४ हजार ५७५ जनाको उम्मेदवारी स्वीकृत गरिएको छ । जसमा मोरङको उर्लाबारीमा २९३, कटहरीमा २१३, कानेपोखरीमा १८९, केराबारीमा १९०, ग्रामथानमा १९६, जहदामा २५६, धनपालथानमा १८२, पथरी शनिश्चरेमा २८०, बुढीगङ्गामा २०६ र बेलबारीमा २९६ जनाको उम्मेदवारी स्वीकृत गरिएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङको मिक्लाजुङमा २४७, रङ्गेलीमा २८४, रतुवामाईमा २४९, लेटाङमा १६१, विराटनगरमा ७४४, सुनबर्षीमा २७६ र सुन्दरहरैंचामा ३१३ जनाको उम्मेदवारी स्वीकृत गरिएको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका निम्त्ति बैशाख ११ र १२ गते मोरङका सबै स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, उप–प्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए । बैशाख १४ र १५ गतेको समय दाबी÷विरोध तथा उम्मेदवारहरु विरुद्ध उजुरीका लागि छुट्याईएको थियो । बुधबारसम्म परेको उजुरीहरु उपरको आवश्यक छानबिन पश्चात कार्यालय दिउँसो उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो । उम्मेदवारहरु विरुद्ध उजुरी उपरकोे छानबिन समेत जारी रहेको हुनाले केहीको उम्मेदवारी खारेज समेत हुनसक्ने अवस्थामा रहेको मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । उनले उजुरीको छानबिन पश्चातको अर्को नामावली साँझ ५ बजेपछि सार्वजनिक गरिने जानकारी दिए ।

विराटनगरमा ७४४ जनाको उम्मेदवारी स्वीकृत

प्रदेश नं. १ को राजधानी विराटनगरको प्रमुख पदका लागि १६ र उप–प्रमुखमा १५ जनाको उम्मेदवारी रुजु गरिएको छ । जसमा सत्ता गठबन्धन सहित अन्य सानासाना दलहरुले समेत प्रमुख र उप–प्रमुखमा उम्मेदवारी दिएको देखिएको छ ।

कार्यालयले बिहीबार सार्वजनिक गरेको नामावली अनुसार विराटनगरको प्रमुख र उप–प्रमुखमा नेकपा (एमाले) बाट सागर कुमार थापा, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोईराला, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युञ्जय मिश्र, नेकपा (एकीकृत समाजवादी) सोने लाल राजवंशी, विवेकशील साझाबाट अमलेश कुमार कर्ण (कायस्थ), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रह्लाद प्रसाद साह (हलुवाई), राष्ट्रिय जनमोर्चाबाट टङ्क प्रसाद गौतम र नेकपा (माक्र्सवादी लेनिनवादी) बाट देवी पौडेलको उम्मेदवारी रुजु गरिएको छ ।

महानगर प्रमुखमै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नागेश्वर सिंह राजपुत, नेपाली काँग्रेस (बि.पी) बाट रामचन्द्र प्रसाद गौतम, जनमत पार्टीबाट अरुण कुमार मण्डल, नेपाल परिवार दलबाट महेश निरौला, पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट प्रदीप कुमार कामत, स्वतन्त्रबाट उमेश कुमार यादव, सक्रिय गौतम र केमुना ओडारी (मैनाली) को नामावली समेत रुजु गरिएको कार्यालयले जनाएको छ ।

यस्तै, विराटनगरको उप–प्रमुखमा प्रदेश निर्वाचन कार्यालयले नेकपा (एमाले) बाट शिल्पा कार्की, जसपाबाट अमरेन्द्र यादव, लोसपाबाट सहनाज खातुन, विवेकशील साझाबाट श्रृजु पराजुली, राप्रपाबाट बिन्दा कुमारी लुईटेल आचार्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला शर्मा, नेपाली काँग्रेस (बि.पी) बाट माया ओझा, जनमत पार्टीबाट अन्नु कुमारी कामत र नेपाल परिवार दलबाट दीपा पोखरेलको उम्मेदवारी स्वीकृत गरेको छ । महानगरको उप–प्रमुखमै पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट हफीजन खातुन, नेकपा (समाजवादी) बाट लक्ष्मी राजवंशी, स्वतन्त्र रुपमा उद्धव प्रसाद कोईराला, नमिता न्यौपाने, गङ्गा देवी सुवेदी र बसुन्धरा देवी झाको उम्मेदवारी पनि रुजु गरिएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित नामावली अनुसार विराटनगरको १९ वडाध्यक्ष पदमा भने १७०, सदस्यमा २९३, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १२१ जनाको उम्मेदवारी परेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्