पाख्रीबास उपप्रमुखका उम्मेदवार निरौलाको चुनावी एजेण्डा : वडावडामा ओपिडी, टोलटोलमा कृषि सडक

पाख्रीबास उपप्रमुखका उम्मेदवार निरौलाको चुनावी एजेण्डा : वडावडामा ओपिडी, टोलटोलमा कृषि सडक

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उम्मेदवार हुन् । उनी नेकपा (माओवादी केन्द्र) पाख्रीबास नगर कमिटीको अध्यक्ष समेत हुन् । पाख्रीबासमा अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबिच गठबन्धन गरिएको छ । गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार भने नेपाली कांग्रेसका ज्ञानबहादुुर गुरुङ छन् ।

मंगलबार आवर विराटनगरसँगको संक्षिप्त कुराकानीमा निरौलाले आफु निर्वाचित भएर आएपछि पाख्रीवासमा विकासका पूर्वाधारहरुलाई संस्थागत गर्न मुख्य भुमिका खेल्ने बताए । उनले नगरक्षेत्रभित्र रहेको ३३ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, वडावडामा ओपिडी, निःशूल्क ल्याब सेवा र चिकित्सकहरुसँगको अनलाईन परामर्श आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको जानकारी दिए ।

‘भौतिक पूर्वाधारको क्षेत्रमा सडकको प्राथमिक योजना निमार्ण गरी वडाबाट टोलटोलमा सडकको पहुँच सिर्जना गर्ने योजना रहेको उपप्रमुख उम्मेदवार निरौलाले सुनाए । उनले भने, ‘प्रत्येक वडामा ‘कृषि सडक’ को योजना अघि बढाईनेछ । उक्त सडकले वडाबाट टोल जोड््ने कार्य गर्छ । सडक ३ देखि साढे ३ किलोमिटर लम्बाईको हुनेछ ।’

यसबाहेक जनताको जीवनस्तर उकास्न कृषिजन्य वस्तुको उत्पादनमा नगरपालिकाले पनि सहयोग गर्ने योजना रहेको उनले जिकिर गरे । वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई पनि सीप, दक्षता र क्षमताको आधारमा स्थानीय विकासमा प्रयोग गर्ने उनले जानकारी दिए । हाल घरदैलो अभियानलाई जारी राखिएको उनले बताए । घरदैलोमा जनताबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै उनले खुशी व्यक्त गरे ।

गठबन्धनको तर्फबाट उपप्रमुख पदका उम्मेदवार निरौला भने अखिल क्रान्तिकारीको महेन्द्ररत्न क्याम्पस कमिटी सदस्य हुँदै नेपाली राजनितीमा पाईला टेकेका व्यक्ति हुन् । हालसम्म उनले अखिल नेपाल शिक्षक संगठन धनकुटाको वरिष्ठ उपाध्यक्ष, अखिल नेपाल लेखक संघको जिल्ला कार्यसमिती सदस्य र नेकपा माओवादी काठमाण्डौं–धनकुटा सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन् । निरौला हाल भने पार्टीको पाख्रीबास नगर कमिटीको अध्यक्षको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्