नेपाल जिम्बाब्वे ‘ए’सँग पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित

नेपाल जिम्बाब्वे ‘ए’सँग पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित

नेपाल जिम्बाब्वे ‘ए’विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेका कप्तान टोनी मुनियोन्गाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गर्न सकेन । नेपालले ३१.३ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो । १३७ रनको लक्ष्य जिम्बाब्वे ‘ए’ले २६ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।

यससँगै जिम्बाब्वे ‘ए’ले तीन खेलको एकदिवसीय शृंखला १–० को अग्रता लिएको छ । यसअघि सम्पन्न तीन खेलको ट्वान्टी–२० शृंखला १–१ के बराबरीमा टुंगिएको थियो । ट्वान्टी–२० शृंखलाको दोस्रो खेल वर्षाले प्रभावित भएको थियो ।

१३७ रनको लक्ष्य पूरा गर्ने क्रममा जिम्बाब्वे ‘ए’का इनोसेन्ट काइयाले ४८, सेफस हुवाओले ३२, रोए काइयाले १४ रन बनाए । ब्राड इभान्स १७ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालले एक एक विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले १० ओभर सकिँदा नेपालले ५६ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल १९, आसिफ शेखले ५, आरिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले १८, रोहितकुमार पौडेलले तीन रन बनाएर पवेलियन फर्किएका थिए । आदील आलम दुई रन बनाएर आउट हुँदा सुशन भारी शून्यमा आउट भए ।

सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ३७ रनको साझेदारी गरे । सोपपालले ३० रन बनाउँदा करणले २५ रन जोडे । कप्तान सन्दीप लामिछानेले चार रन बनाए । सागर ढकाल एक रनमा अविजित रहे ।

जिम्बाब्वेका ब्राड इभान्सले चार विकेट लिए । उनले ८.३ ओभरमा २७ रन दिएर चार विकेट लिएका हुन् । भिक्टोर न्याउची, सेफस हुवाओ र ब्रान्डन मभुताले समान दुई विकेट लिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वेविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारी गरिरहेको छ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय शृंखला जुन ६ देखी १६ सम्म अमेरिकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्