स्थानीय तह निर्वाचन : मतपत्र ढुवानी सकियो, जिल्ला तहमा तयारी तीव्र

स्थानीय तह निर्वाचन : मतपत्र ढुवानी सकियो, जिल्ला तहमा तयारी तीव्र

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् ।

आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो । आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ । आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ । सो कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ । उनले वैशाख २४ गते जिल्लाको बङ्गलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्