विराटनगरको गुरुकुलमा मञ्जु काँचुलीका कविता प्रस्तुत

विराटनगरको गुरुकुलमा मञ्जु काँचुलीका कविता प्रस्तुत

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् ।

आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्रिय छन् । कवि काँचुलीले कविताका अतिरिक्त कथा, उपन्यास, नाटक लगायतका विधामा कलम चलाएकी छन् ।लेखनमा आफ्नै खालको सम्प्रेषण व्यक्त गर्न सिपालु उनी नारी स्वरलाई प्रभावशाली ढङ्गले अभिव्यक्त गर्न सक्षम छिन् । उनको लेखनमा समाज, मनोविज्ञान, कला (शैली), दर्शन, दृष्टिकोण, मानवतावादी मुद्दा लगायत स्पष्ट विचार पाउन सकिन्छ ।

उनी प्रयोगवादी लेखकको रुपमा पनि परिचित छिन् । कवि काँचुलीले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय साहित्यक तथा सामाजिक संघ-संस्थाहरुसँग आबद्ध रही कार्य गरेकी छिन् । उनी सडक कविता क्रान्तिकी एक सकृय सहभागी हुन् । आरोहण-गुरुकुल विराटनगरले दशकौंदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका कविहरुलाई २०७७ सालको मंसिरदेखि प्रस्तुत गराउँदै आएको हो । प्रत्येक महिनाको पहिलो शनिरबा दिउँसो १ बजे आरोहणले काव्यारोहण सञ्चालन गर्दै आएको छ । काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल, श्रवण मुकारुङ र बद्रीप्रसाद पोखरेल (बद्री भिखारी) प्रस्तुत भइसकेका छन् ।

काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट स्रोताहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्