म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि “लिभरपुललाई”

म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि “लिभरपुललाई”

यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरिएका स्ट्राइकर डार्विन नुनेजले गोल गरेको खेलमा लिभरपुलले शनिबार राति प्रिमियर लिगको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

उरुग्वेका स्ट्राइकर नुनेज बेन्फिकाबाट सात करोड ५० लाख युरोमा लिभरपुल आएका थिए । लिभरपुलमा पहिलो सिजन नै उनले उपाधिबाट सुरुआत गरेका छन् । नुनेज ५९औँ मिनेटमा मैदान छिरेका थिए । उनले रोबर्टो फिर्मिनोलाई प्रतिस्थापन गरेका थिए । नुनेजले इन्ज्युरी समयमा एन्ड्रयु रोबर्टसनको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

त्यसअघि, लिभरपुलले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको गोलबाट २१औँ मिनेटमा अग्रता लिएको थियो । ७०औँ मिनेटमा युलियन अल्भारेजले बराबरी गोल फर्र्काएका थिए । अल्भारेज पनि ५८औँ मिनेटमा रियाद महारेजको स्थानमा मैदानमा छिरेका थिए । सिटीबाट उनको पहिलो गोल हो ।

८३औँ मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गरेको गोलबाट लिभरपुलले पुनः अग्रता लिएको थियो । नुनेजले इन्ज्युरी समयमा अर्को गोल थपेपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको हो ।

कम्युनिटी शिल्ड वेम्बली रंगशालामा नभई लेस्टर सिटीको किङ पावर रंगशालामा खेलाइएको थियो । वेम्बलीमा आइतबार महिला युरोपियन च्याम्पियनसिपको फाइनल खेल हुने भएकाले कम्युनिटी शिल्ड किङ पावर रंगशालामा खेलाइएको हो ।

कम्युनिटी शिल्ड प्रिमियर लिग विजेता र एफए कप विजेताबीचको प्रतिस्पर्धा हो । सिटीले गत सिजन लिग उपाधि जितेको थियो भने लिभरपुल एफए कपको विजेता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्