वेस्ट इन्डिजविरुद्धको खेलमा भारत ८८ रनले विजयी

वेस्ट इन्डिजविरुद्धको खेलमा भारत ८८ रनले विजयी

श्रेयस ऐयरको अर्धशतक तथा रवी विश्नोईको चार विकेटप्रेरित भारतले आइतबार राति वेस्ट इन्डिजविरुद्धको पाँचौँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ रनको विजय हासिल गरेको छ । योसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारत ४–१ ले विजयी भएको छ ।

लाउडरहिलस्थित सेन्टर ब्रोवार्ड रिजनल पार्कमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पाहुना टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन बनाएको थियो ।

भारतका सबै स्पिनर मिलेर १० विकेट लिएपछि १८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.४ ओभरमा १०० रन बनाउँदा सबै विकेट गुमायो । पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै १० विकेट स्पिन बलरले मात्र लिएको यो पहिलो खेल हो ।

यसअघि, एक इनिङमा स्पिनरहरूले बढीमा नौ विकेट मात्र लिन सकेका थिए । गएको जुनमा अष्ट्रियाका स्पिनरहरूले हंगेरीविरुद्ध नौ विकेट लिएका थिए ।

यस्तै, गत वर्षको ट्वान्टी–२० विश्वकपमा पनि अफगानिस्तानका स्पिनरहरूले स्कटल्यान्डविरुद्ध नौ विकेट लिन सफल भएका थिए ।

यद्यपि, महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने यसअघि नै यो सम्भव भएको छ । सन् २०१९ मा थाइल्यान्डका स्पिनरहरूले मलेसियाविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए ।

शृंखलामा वेस्ट इन्डिजले दोस्रो खेल पाँच विकेटले जित्नुबाहेक अरू खेल गुमायो । भारतले पहिलो खेल ६८ रनले जितेको थियो । तेस्रो खेलमा भारत सात विकेटले विजयी भएको थियो । चौथो खेल ५९ रनले जितेको भारतले पाँचौँ खेलमा ८८ रनको विजय हासिल गरेको हो ।

भारतका श्रेयस ऐयरले ४० बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ६४ रन बनाए । दीपक हुडाले ३८ रन जोड्दा कप्तान हार्दिक पाण्डेयले २८ रनको योगदान गरे । सञ्जु सामसनले १५, दिनेश कार्तिकले १२ र इशान किशनले ११ रन बनाए ।

वेस्ट इन्डिजका ओडेन स्मिथले तीन विकेट लिँदा हेडेन वालश, डोमिनिक ड्राकेस र जसोन होल्डरले एक/एक विकेट लिए ।

१८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजका लागि शिमरन हेटमायरले ५६ रन बनाए । शमराह ब्रुक्सले १३ र डेभोन थोमसले १० रन जोडे ।

भारतका रवी विश्नोईले २.४ ओभरमा १६ रन दिएर चार विकेट लिए । कुलदीप यादवले चार ओभरमा एक मेडनसहित १२ रन दिएर तीन विकेट लिए । अक्षर पटेलले तीन ओभरमा एक मेडनसहित १५ रन दिएर तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्