विराटनगर। अदालतको म्याद सूचनालाई भन्सार विभागले प्रतिउत्तर लगाउन नसक्ने भनेर पत्र बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले सुपारी सम्बन्धी छलफललाई भदौ २ गते सारेको छ ।
विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भएर दुवैले सिलबन्दी गरेको ८ ट्रक सुपारीलाई मोरङ प्रहरीले साउन ५ गते पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो।
यो कानुन विपरित भएको भन्दै सुपारीका निर्यातकर्ता मनकामना ट्रेडर्सका नवीन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगर भन्सार, भन्सार विभाग र राजस्व अनुसन्धान कार्यालय समेतलाई विपक्षी बनाएर साउन २६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए।
मुद्दा उपर उच्च अदालतले साउन २९ मा सुनवाइ गर्दै साउन ३१ मङ्गलवारका लागि पक्ष–विपक्ष दुवैलाई छलफलमा बोलाएको थियो। भन्सार विभाग समेत विपक्षी रहेको मुद्दामा अदालतले पठाएको म्याद पत्र बुझ्न इन्कार गरेपछि सुपारी छलफल भदौ २ गतेलाई सारिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले मंगलबार जारी गरेको आदेशमा अब ‘अन्तरिम आदेश छलफलको मिति २०७९–५–२ को पेसी तारेख तोकी सोको सूचना विपक्षीहरूलाई दिनू’ भन्ने उल्लेख गरिएको छ। अदालतले फेरि पनि म्याद बुझ्न इन्कार गरेमा विभागका प्रमुखलाई नै कारबाही गर्न सकिने चेतावनी समेत दिएको छ। अदालतको सूचना बुझ्न इन्कार गर्नुलाई गम्भीर रूपमा लिइएको छ। उच्च अदालतका सुचना अधिकारी ओम सुवेदीले विपक्षीले म्याद बुझ्न नमानेपछि छलफल प्रभावित भएको जानकारी दिनुभयो ।